३१ असार २०८३, बुधबार

नेपाल-भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रङ्गरोगन शुरू

माघ २२, २०८०
बुटवल
नेपाल-भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रङ्गरोगन शुरू

​​पश्चिम नवलपरासीका भारतीय सीमाना जोडिएको नेपाल-भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार एवं रङ्गरोगन कार्य शुरू गरिएको छ । लामो समयदेखि मर्मत नहुँदा जीर्णजस्तै बनेका सीमा स्तम्भहरू नेपाल र भारतका सीमा सुरक्षा निकायले मर्मत तथा रङ्गरोगन थालेका हुन् ।

जोर नम्बरका भारत र बिजोर नम्बरका स्तम्भहरू नेपालले गर्ने सहमतिअनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीले सोमवारदेखि मर्मत र रङ्गरोगन कार्य शुरू गरेको गणका प्रमुख (एसपी) धीरेन्द्रराज न्यौपानेले बताए । 

नवलपरासीको नारायणीपारीको सुस्ता गाउँदेखि पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्मको साढे ४१ किलो मिटर क्षेत्रफलले भारत उत्तर प्रदेशको सीमालाई छोएको छ ।

जसअनुसार नारायणीवारीको सुस्ता गाउँपालिकाको पक्लिहवादेखि गेर्मीसम्मको साढे २७ किलोमिटर क्षेत्रफलमा १६ वटा स्तम्भहरू रहेका छन् ।​ नारायणी नदी पारी रहेका सुस्ता गाउँमा भने सीमा स्तम्भ छैनन् ।​

सुस्ताको १४ किलो मिटर क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । स्तम्भ नभएका कारण सुस्ता क्षेत्र पटक पटक भारतीय अतिक्रमणमा पर्दै आएको हो । 

‘अहिले साढे २७ किलो मिटर क्षेत्रफलमा रहेका १३ वटा मुख्य र ३ सहायक गरी १६ वटा स्तम्भहरूको मर्मत र रङ्गरोगन कार्य शुरू गरिएको हो', एसपी न्यौपानेले भने, 'जसमा जोर नम्बरका भारत र बिजोर नम्बरका नेपालले गर्ने सहमतिअनुसार ९ वटा बिजोर नम्बरका स्तम्भलाई हामीले रङ्गरोगन गर्न थालेका हौं ।’

तीन दिनभित्रमा स्तम्भको मर्मत र रङ्गरोगन कार्य सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्