
खोटाङ
जिल्ला प्रशासन कार्यालय खोटाङले सबै सवारीसाधनलाई अनिवार्यरूपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकालयलाई लिखित निर्देशन दिएको हो ।
प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । 'जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा दुईवटा बसपार्क छ । यातायात व्यवसायीहरूले आफूखुसी जथाभावी पार्किङ गर्दै आएका छन् । बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजार कुरुप बनेको छ,' उनले भने, 'कुरुप बजारलाई व्यवस्थित गर्न प्रशासनले पहल थालेको छ । प्रशासन दिएको निर्देशन कार्यान्वयन गर्न/गराउन सम्बन्धित निकायलाई लिखित निर्देशन दिइएको छ । यदि, प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेको खण्डमा कानुनबमोजिक कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।'
विसं २०७३ मा बनेका दिक्तेलस्थित आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा पार्किङ गर्दा समस्या आएको जनाउँदै स्थानीय बासिन्दाको विरोधपछि प्रजिअ शाहले मङ्गलबार सर्वपक्षीय बैठक बोलाएका थिए ।
बैठकले जिल्लामा सञ्चालित साना तथा ठूला सवारीसाधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरेको थियो । सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न र यातायात व्यवसायीले निर्णय कार्यान्वयन गरे/नगरेको जानकारी गराउन पनि प्रशासनले लिखित निर्देशन दिएको छ । प्रशासनले दिएको निर्देशन तथा बैठकको निर्णयको प्रतिलिपि नेपाल पत्रकार महासङ्घ खोटाङलाई बोद्धार्थका रुपमा पठाएको छ ।