२२ असार २०८३, सोमबार

आफताब आलम मुद्दा : घाइते जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश

माघ २८, २०८०
काठमाडौं
आफताब आलम मुद्दा : घाइते जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश

हत्या आरोपमा पुर्पक्षमा कारागारमा थुनामा रहेका पूर्व मन्त्री आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतले जाहेरवाला घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश गरेको छ । 

स्रेस्तेदार उद्धव ढोडारीका अनुसार १ नम्बर इजलाशका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले आइतवार उक्त आदेश गरेको हो ।

'घाइते रहेका जाहेरवाला गौरीशंकर राम र वादी नेपाल सरकारको तर्फबाट वस्तु स्थिति मुचुल्का र घटना विवरण कागज गर्ने ७/८ जना सरकारी साक्षीलाई समेत बकपत्र यथाशिघ्र गराउन आदेश गर्नु भएको छ,'  ढोडारीले लोकान्तरसँग भने ।

यति दिन भित्र नै गराउन लिखित आदेश नभए पनि १५ दिन भित्र गराउने उनले बताए ।

यस अघि दुवै पक्षको बहस सकिएर वकिलहरूले बहस नोट समेत पेश गरिसकेको अवस्थामा अब अन्तिम फैसलाका लागि सुनुवाई हुनुपर्नेमा अन्य आदेश किन भएको हो भन्ने जिज्ञासामा उनले भने, '१ नम्बर इजलासका श्रीमानले फेरि गहिरिएर सबै कुरा शुरूदेखि नै हेर्नुभएको छ । त्यसरी हेर्दा सरकारी साक्षीको बकपत्र नभएको तथा घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश नभएको देखेपछि उहाँले आदेश गर्नुभएको हो ।'

बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा जलाएर हत्या गरेको घटनाका अभियुक्त मोहम्मद आफताब आलमलाई सर्वस्वसहित जन्म कैदको मागदाबीसहित मुद्दा दर्ता भएको थियो ।

प्रहरीले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थसम्बन्धी तीन मुद्दामा अभियुक्त बनाएको छ ।

बम काण्डमा आलमसहित ११ जनालाई अभियुक्त बनाइएको छ । पहिलो संविधानसभा निर्वाचनको वेला बुथ कब्जा गर्ने उद्देश्यले मतदानको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहट-२ बाट नेपाली कांग्रेसका उम्मेदवार आलमकै निर्देशनमा बम बनाउने क्रममा विस्फोट भएको थियो। 

सर्वोच्च अदालतको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले गत २६ असोजमा बम काण्डका मुख्य आरोपित आलमलाई पक्राउ गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्