
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले माउ पार्टीको महासमिति बैठक बहिष्कार गरेको छ । महासमिति सदस्यमा युनियनको पछिल्लो कार्यसमितिबाटै प्रतिनिधित्व नगरिएको भन्दै विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाइएको हो ।
‘नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरूको आस्था र धरोहरको केन्द्र हो । स्थापनाकालदेखि नै नेपाली श्रमजीवी पत्रकारहरूको पेसागत हकहित एवं लोकतान्तिक मूल्य मान्यताका पक्षमा नेपाल प्रेस युनियन क्रियाशील रहँदै आएको छ । लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षधर हुनुको नाताले मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग शुभेच्छुक संस्थाका रूपमा हामीले सहकार्य गरिआएकै हो’ युनियनका अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ ।’
पार्टीले १४ औं महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई यसपटक महासमिति सदस्यको रुपमा प्रतिनिधित्व गराएपछि युनियनले आपत्ति जनाएको हो ।
‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ’ युनियनको विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भर्त्सना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौं । साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौं ।’
युनियनले आधिकारिक रुपमा बहिष्कार गरेपछि पछिल्लो निर्वाचित मध्येका पदाधिकारी कोही पनि महासमितिको उद्घाटन कार्यक्रममा पुगेका थिएनन् ।
पार्टीले युनियनका तर्फबाट यस अघिका पूर्व अध्यक्ष बद्रि सिग्देल, उपाध्यक्ष इश्वरी ओझा र कोषाध्यक्ष सरोज अधिकारीलाई प्रतिनिधि बनाएको हो ।
तर अघिल्लो कार्यसमितिका पदाधिकारीलाई प्रतिनिधि बनाएपछि गत वर्ष निर्वाचित भएका युनियनका पदाधिकारीले महासमिति बैठक बहिष्कार गरेका हुन् । यसरी बहिष्कार गर्ने नेपाली कांग्रेसका संस्थापन इतरका पदाधिकारीसहितका पत्रकार छन् ।
कांग्रेसले प्रेस युनियनमात्रै होइन नेविसंघसहितका अन्य केही भ्रातृ र शुभेच्छुक संस्थाबाट पनि पुरानै कार्यसमितिबाट महासमितिमा सदस्य बनाएको छ ।
