
ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसंस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त अपिल गरेका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग बिहीवार संयुक्त अपिल गरेका हुन् ।
‘सबैको साझा आस्थाको धरोहर रहेको पाथीभरा (मुकुम्लुङ) शक्तिपिठमा नेपालका मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शनका लागि आउने गरेका छन्,’ अपिलमा भनिएको छ, ‘यसर्थ यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको छ ।’
विगत केही वर्षदेखि धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको अपिलमा उल्लेख छ ।
‘पाथीभरामा बर्सेनि करिब ३ लाखको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरूलाई निजी क्षेत्रको आग्रह छ,’ अपिलमा भनिएको छ ।
अर्बौँ रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुम्लुङ केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठूलो योगदान दिने कुरामा दुई मत नभएको निजी क्षेत्रको दाबी छ । यसबाट स्थानीय स्तरमा रोजगारी–स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धनमा फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेकोतर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।
यस्ता गौरवका योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्नेमा निजी क्षेत्रले जोड दिएका छन् । ‘शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने आम निजी क्षेत्रको बुझाइ छ,’ अपिलमा उल्लेख छ ।