साउन १६, २०८१
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
काठमाडाैं | चैत १२, २०८०
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रतीक्षा गर्नु यस्तो समाजको मौलिक प्रवृत्ति हो । त्यसैले सायद हामी नेपालीहरू लामो समयदेखि युगीन अवतार पर्खिरहेका छौं ।
अकस्मात् कोही जादुगर प्रकट भइदेला र हामी सबैको कल्याण गरिदेला भन्ने ठूलो आशामा बाँचेका छौं । यो प्रतीक्षा मानव समाजको लागि विडम्वनापूर्ण मुर्खता हो । विश्व राजनीतिमा विशिष्ट र मौलिक पहिचान बनाएको गान्धी विचारधारा अवतारवादका विरुद्ध छ । हुन त स्वयं यस विचारधारालाई गान्धीवाद भन्न थालिएको छ । र स्वयं गान्धी एक अवतार बन्ने खतरा छ । आफ्ना लागि स्वयं आफैं पौरख गर्ने मान्यता नैं व्यवहारिक तथा बुद्धिमत्तापूर्ण छ, जुन बाटोमा गान्धी हिँडेका थिए । उनले ब्रिटिशराजविरुद्ध 'सत्याग्रह'को बाटो अवलम्बन गरे ।
तर, हामी नेपालीहरू आफ्नो पहिचान र ऐतिहासिक चरित्र बिर्सिएर कुनैं चमत्कार पर्खेर बसेका छौं । योभन्दा ठूलो दुर्भाग्य अरु हुन सक्तैन । हामी कतिञ्जेल पर्खिन्छौं र कहिलेसम्म राज्य निर्मोही बनिरहन्छ, यसको कुनैं क्षितिज देखिएको छैन । जबसम्म हामी कर्ममा विश्वास गर्थ्यौं, निकै स्वाभिमानी थियौं, बहादुर र सम्मानित थियौं । तर, जब आफ्नो बुद्धि र श्रममा भर गर्न छाड्यौं, आजको अवस्थामा पुग्यौं । यसको दोष अरुलाई दिन पाइँदैन । तर, हामीले यसको दोष हाम्रो भाग्य र प्रारब्धलाई दिएका छौं ।
नेपालको राजनीतिक नेतृत्वले हामीसँग उपलब्ध पौराणिक शास्त्रहरू र राजा महाराजाहरू अथवा दुनियाँका असल शासकहरूका जीवन चरित्र थोरैमात्र अध्ययन गरेको भए वर्तमान राजनीतिमा यति धेरै विकृति देखापर्ने थिएनन् । साथै छरछिमेकका दृष्टान्त मात्र हेरेको भए पनि यस्तो दुर्दिन झेल्नुपर्ने थिएन । राज्य, राजनीति, शासनसत्ता र नागरिकप्रति राज्यको कर्तव्य के हो ? भन्ने कुरा थोरैमात्र बुझेको भए पनि नेपालका सरकारहरूसँग नेपाली जनता यति धेरै चिढिने थिएनन् । साथै नयाँ पुस्ता यत्रो विधि बिरक्तिने थिएन ।
बडो दुःखका साथ भन्नुपर्छ, ठूल्ठूला राजनीतिक परिवर्तनपछि सत्तामा पुगेका नेताहरूले जनभावना अनुकूल काम गर्न सकेको भए यस्तो दुर्दिन देख्नुपर्ने थिएन । हामी सबैले बुझ्नुपर्छ राजनीति भनेको, जनताको सुख र खुशी हो । त्यसमा पनि लोकतान्त्रिक राजनीति भनेको केवल सत्ता र ओहदा मात्र होइन । आवधिक निर्वाचन, दलहरूबीचको प्रतिस्पर्धा, निर्वाचनको जीत र हार, सत्ता प्राप्ति या विपक्षको भूमिकाजस्ता कुरा प्राविधिक मात्र हुन् । तर, यसैलाई सम्पूर्ण राजनीति ठान्ने पेसेवर राजनीतिज्ञहरूका कारण नेपाली राजनीति नयाँ पुस्ताका माझ असाध्यै अलोकप्रिय र बदनाम भएको छ ।
यसको जिम्मा समकालीन राजनीतिक दलहरू र दलका नेताहरूले लिनुपर्दछ । यति लामो समयसम्म शासनमा बसेका राजनीतिक दलहरूले वर्तमान बेथितिको भारी अरु कसैलाई बोकाएर उम्किन पाउँदैनन् । तर, हाँस्यास्पद कुरा त के भने दोष जति अरुको थाप्लोमा खन्याएर आफूलाई गतिलो देखाउन हामी भरमग्दुर प्रयत्न गरिरहेका छौं, जुन एकदमै असम्भव छ ।
बेलायती प्रधानमन्त्री तथा दोस्रो विश्वयुद्धका हिरो विस्टर्न चर्चिलले विश्वयुद्धपश्चात् संसदीय निर्वाचन हारे । हाउस अफकमन्समाफर्किन उनले थप एक चुनाव पर्खिनु पर्यो । त्यसबीच उनले साहित्य तर्फकोनोबेलपुरस्कारसमेत प्राप्त गरे । अर्को चुनावसम्मबेलायतीहरूकोउनीप्रतिकोपूर्वधारणापनि बदलियो र चुनाव जिताए । नत्रविश्वयुद्धताकाउनीप्रति बनेको धारणा यथावत् रहेको भए सक्रिय राजनीतिमा उनको पुनरागमन सम्भव थिएन ।
यस प्रसंगलाईयहाँ उद्धृत किन गरिएको हो भने राजनीतिज्ञले कहिलेकाहीँ जनआवाजलाईपनि सुन्नुपर्छ, आफ्ना कमजोरी स्विकार्नु पर्छ र आफूलाई सुधार्नु पर्छ । म नै सबैथोक हुँ भन्ने अतिवादी चिन्तन परित्याग गर्न सक्नुपर्छ । अझ लोकतान्त्रिक सिद्धान्तका अनुयायी हुँ भन्ने राजनीतिज्ञहरूले त विधिको पालना र सुधारलाई जीवन पद्धति बनाउन सक्नुपर्दछ । तर, नेपाली राजनीतिज्ञहरूको बुझाइ यस्तो छैन । उनीहरूको सबैभन्दा ठूलो खुबी बारम्बार सत्तामा पुग्नु तर, केही लछारपाटो लाउन नसक्नु हो भन्ने कुरा पछिल्लो घटनाक्रमबाट प्रमाणित भएको छ । जे-जस्तो तरकिब अपनाएर भए पनि सत्तामा पुगी छाड्ने प्रवृत्ति नेपाली राजनीतिज्ञहरूको विशिष्ट चिनारी हो । नेपाली राजनीतिज्ञहरूलाई उछिन्न सक्ने राजनीतिज्ञहरू संसारमा धेरै कम हुनसक्छन् ।
अर्को कुरा नेपालका राजनीतिक दलहरूका लागि 'सत्ता', राजनीतिमा टिक्ने निर्विकल्प आधार भएको छ ।सत्तामार्फत् राज्यको ढुकुटी दोहन गरेर आफूलाई बलियो बनाउने गरेको पाइन्छ । यसबाहेक भोलि आउने पुस्ताले स्मरण गर्न योग्य, गौरव गर्न लायक र अरुलाई बताउन योग्य कुनै काम र बहादुरी गर्न सकेका छैनन् । तर, राजनीतिमा आफू जति बहादुर कसैलाई ठानेका छैनन् । राजनीतिक परिवर्तन मात्र सबै थोक होइन भन्ने कुरा बीपी र गणेशमानजस्ता नेताले धेरै पहिले नैं समय मैं औंल्याएका थिए ।
कुनै पनि समाज वा राष्ट्रका लागि साढे तीन दशकको समय निकै लामो र पर्याप्त समय हो । हामीले यति अवधि सत्ता स्वार्थमा ख्याल ठट्टा गर्दागर्दै गुजार्यौंभन्दा फरक पर्दैन । इतिहासले प्रदान गरेको अवसर र समयको महत्व हामीले बुझ्नै सकेनौँ । हाम्रा सन्तति र आउने समयप्रतिको दायित्व निर्वाह गर्न सकेनौं । यस गैरजिम्मेवारीका लागि जति माफी मागे पनि कम नै हुनेछ ।
यस्तो गैरजिम्मेवारी संसारमा अन्यत्र कमै पाइन्छ । जनतालाई निर्वाचन र आन्दोलनमा प्रयोग मात्र गर्ने र आफ्नो दायित्व पूरा नगर्ने निर्मोही राज्यको पहिचान बनाएको हाम्रो देश विश्वसामु कति प्रतिष्ठित छ, हामी सबैलाई थाहा छ । न त जनताले बुझाएको एक एक पैसाको सदुपयोग छ, न वैदेशिक अनुदान र ऋणको । निरन्तर रूपमा आजसम्मका सरकारहरूबाट बदमासी हुँदै आएको छ । जनताको रोदन र क्रन्दन सुन्ने यहाँ कोही पनि छैन । तथापि हामी आँखा चिम्लेर ढुक्कसँग बसेका छौं ।
हिजोआज नेपाली राजनीतिले निर्धारित बाटो, सामान्य संस्कार र मूल्य मान्यतासमेत गुमाउँदै गएको देखिन्छ । यही रवैया र गतिमा अघि बढ्ने हो भने सम्भावित राजनीतिक दुर्घटनालाई कसैले पनि रोक्न सक्ने छैन । त्यसैले पनि नेपाली समाजमा दिनानुदिन तनाव र अशान्ति बढिरहेको छ । यसको कुनै गन्तव्य देखिएको छैन । हामीसँग राष्ट्र निर्माणको सर्वस्वीकृत मार्गचित्र छैन । यस विषयमा हामी कहिले पनि चिन्तित देखिएनौं ।
हाम्रो ध्यान पार्टी नेतृत्वमा पुग्ने र आम निर्वाचनमा आफ्नो स्थान सुरक्षित पार्ने मात्र देखियो । यस रवैयाले हामी सबैलाई पदप्रति आसक्त र सत्ताप्रति चरम लालची प्रमाणित गर्यो। यो क्रम अझ बढेर जाने निश्चित देखिन्छ । आजसम्म हामीले बुझेको र सिकेको राजनीति यही नै हो । लोकतन्त्रको स्थापनापश्चात् राजनीतिको मौलिक र आधारभूत चरित्र पनि परिवर्तित हुनुपर्थ्यो । तर राणा, राजा र पञ्चायतजस्तै हामी पनि सत्ता सञ्चालनमा फरक देखिन सकेनौँ ।
२०४६ सालको परिवर्तनपछि हामीले सत्तालाई प्रमुख गन्तव्य बनायौं । तर, सत्ता त गन्तव्यमा पुग्ने माध्यम मात्र थियो । यस दौरानमा हामीले प्रारम्भ गरेको राजनीतिको आदर्शलाई पछ्याउनु, त्यसलाई लागू गर्नु र लक्ष्यतर्फ अघि बढ्नु हाम्रो प्रमुख दायित्व थियो । यसको सट्टा हामी निर्वाचनमुखी, फगत सत्तामुखी र मतलबी प्रमाणित भयौं ।
यस्तो चरित्रको विकास भएपछि आम मतदाताले हामीलाई भरपर्दो, विश्वासिलो र गतिलो देख्न छाड्यो । समाजमा हाम्रो छवि खलनायकको जस्तै बन्यो । जतिसुकै जिवन्त अभिनय गरे पनि सभ्य समाजमा खलनायकको भूमिका प्रशंसनीय र सकारात्मक बन्न सक्तैन । कारण त्यसले समाजमा दुष्प्रभाव नै बढाउँछ । आजसम्म चलेको राजनीतिले निरन्तर दुष्प्रभाव बढाएको छ । अर्को कुरा, गरीब र असहाय जनताप्रति राज्य कठोर र हदैसम्म निर्मोही छ । अझ शिक्षा र स्वस्थ क्षेत्रको स्थिति त निकै कहालीलाग्दो छ । गरीब र निरीह नेपालीका लागि यहाँ कुनै स्थान छैन । पैसा नहुने नेपाली उपचार नपाएर मर्नुपर्छ, सम्पत्ति नहुने नेपालीका बालबच्चा सुकुम्बासी, बेरोजगार र मजदुर बन्नुको विकल्प छैन । आखिर यो कहिलेसम्म ? अनि यसलाई कुन तन्त्र भन्ने ? के हामीले ल्याएको राज्यव्यवस्था यस्तै हो ?
हामीले अब नयाँ बहसको थालनी गर्नु उपयुक्त हुन्छ । अमेरिका, युरोप, जापान, भारतलगायत राष्ट्रहरूले गरेको विकासका रहस्यहरू के हुन् ? के त्यहाँ कुनै अवतारले चमत्कार गरेको हो ? वा त्यहाँको राजनीतिक प्रणाली कारक हो ? अथवा नेतृत्व कुशलता ? चीनमा विकास कसरी सम्भव भयो त ? विकास को आधार शासन प्रणाली हो वा राजनीतिक नेतृत्व ? पुँजीवाद वा साम्यवाद भन्ने बहसको सफलता विकासको कारक हो कि गतिलो राजनीतिक नेतृत्व कारक हो ? यसमा बहस नगरिकन हामी निष्कर्षमा पुग्न सक्तैनौं ।
हाम्रो द्वन्द्व र तानातानले दुनियाँलाई निश्चितरूपमा निःशुल्क मनोरञ्जन प्रदान गरिरहेको हुनुपर्छ । न इमान, न सपना, न योजना, न दृढता, न सुझबुझ, केवल बकवास हाम्रो वास्तविकता हो । के यसै गरेर नागरिक कर्तव्य पूरा हुन्छ त ? अनि यो धारावाहिक श्रृङ्खला कहिलेसम्म ? राजनीतिमा विचार प्रणालीको निकै ठूलो महत्त्व छ । गान्धी वा मार्क्सको प्रभाव चीरकालसम्म रहन्छ नैं । तर, दुवै महापुरुषका विचार वर्तमान राजनीतिको मूलधार होइनन् । न भारत, न चीन दुवै देशले गान्धीवाद र मार्क्सवादलाई आत्मसात गरेर उन्नति गरेका होइनन् । त्यसो भए विकास र उन्नतिका लागि त अर्थोक नै चाहिँदो रहेछ । तसर्थ अब हामीलाई विकासको सूत्र पहिल्याउने बहस चाहिएको छ । यसमा विलम्ब गर्नु हुँदैन । यसका लागि राज्य कै अग्रसरता चाहिन्छ ।
२००७ सालको जनक्रान्तिले नेपाली जनतालाई आफ्नोबारे सोच्न सक्ने र सपना देख्न सक्ने सार्वभौम बनाएको हो । नत्र १०४ वर्षको दमनकारी शासन अर्थात् राणाशाहीले आम नेपालीलाई मानवरूपी दास बनाएको थियो । नेपालीहरूले आफ्नाबारे सोच्न पनि छाडेका थिए ।अन्धकारपूर्ण बन्द समाजमा व्याप्त विभेद, शोषण र अन्यायको कुनैं सीमा थिएन । जनताको जीवन नारकीय एवं पशुवत् थियो । त्यस्तो अवस्थाबाट जनतालाई मुक्त गर्ने क्रान्ति लरतरो थिएन । त्यसैको जगमा नेपाली समाज गणतन्त्रसम्म पुगेको हो । यो सबै विकास क्रममा नेपाली जनताको अपार साथ र समर्थन थियो ।
हामीले बुझ्नुपर्ने कुरा के छ भने सभ्यताको विकासक्रममा राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन । यसलाई आर्थिक सामाजिक परिवर्तनले पृष्ठपोषण गर्नुपर्छ । अनि मात्रै क्रान्ति र आन्दोलनले सार्थकता प्राप्त गर्छ । बडो दु:खका साथ भन्नुपर्छ कि हामीले राजनीतिक परिवर्तन सँगसँगै आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउन सकेनौं । यो दायित्व हाम्रै थियो । शासन प्रणाली देशको आर्थिक समुन्नतिको अचूक औषधि होइन, समुन्नति हासिल गर्ने माध्यम मात्र हो भन्ने कुराको हेक्का राख्न सकेको भए जनताको हालतमा धेरै सुधार भइसक्थ्यो । तर, अब आजसम्म भएन, अब के होला भनेर चुप लागेर बस्ने सुविधा हामीसँग छैन ।
नयाँ सन्ततिलाई कस्तो देश वा समाज हस्तान्तरण गर्ने ? कसलाई रहर होला, आफ्नो देश छाडेर मुग्लान भासिन । तर, दुःखका साथ भन्नुपर्छ, हामीले आजसम्म बनाएको नेपालमा नयाँ सन्ततिका लागि र अहिलेको नयाँ पुस्ताका लागि कुनै स्थान छैन । यसको जिम्मा कसले लिने ? जननिर्वाचित व्यक्तिहरू नैं गैरजिम्मेवार भएपछि निर्मोही राज्यको उदय हुँदो रहेछ । हाम्रा लागि नेपाल निर्मोही राज्य (Ruthless State) हो ।
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...