०५ असार २०८३, शुक्रबार
एक 'मोस्टवान्टेड'को अपराध शृंखला

प्रहरीले गोली हानेका ‘मोस्टवान्टेड’ बब्लु : मधशेमा असुली, लाल मोहम्मद हत्यामा ‘कनेक्सन’

बैशाख १८, २०८१
काठमाडौं
प्रहरीले गोली हानेका ‘मोस्टवान्टेड’ बब्लु : मधशेमा असुली, लाल मोहम्मद हत्यामा ‘कनेक्सन’

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणका गणेश कुमार नेपालभित्र भएका पछिल्ला आपराधिक घटना संलग्न रहँदै आएका व्यक्ति हुन् ।

अपराधको दुनियाँमा उनलाई गणेशको नामले कसैले पनि चिन्दैनन् । उनले भारतीय 'अन्डरवर्ल्ड डन' बब्लु श्रीवास्तसँग मिल्दोजुल्दो नाम राखेर व्यापारीलाई धम्क्याउने तथा पैसा असुल्ने काम गर्दै आएका थिए ।

गणेशले बब्लु पासवान बोलेको भनेर व्यापारीलाई धम्की दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

बब्लु पछिल्लोपटक काठमाडौंको गोठाटारस्थित मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरी हत्या गरेको घटनामा पनि संलग्न देखिन्छन् । 

२०७९ असोज ३ मा भएको घटनामा बब्लुको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दाबी छ । त्यसअघि २०७३ जेठ १३ मा बाराको गढीमाई नगरपालिका– १ का व्यापारी सुरेश केडियाको अपहरणमा समेत बब्लु मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार राति गोली प्रहार गरी नियन्त्रणमा लिएका बब्लु भारतमा बसेर पर्सा र मधेश प्रदेशका अन्य जिल्लामा व्यक्ति अपहरणमा योजनाबद्ध ढंगले लागेको सूचना प्रहरीसँग छ । प्रहरीको अभिलेख अनुसार उनी साना हतियार र लागू औषधको कारोबारीसमेत हुन् । आइतबार गोली प्रहार गरी नियन्त्रणमा लिँदा बब्लुसँग ४९ ग्राम खैरो हेरोइन, ८८० ग्राम गाँजा, मेड इन यूएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलका अनुसार बब्लुले नेपालमा अपराध गरेर भागेका नेपाली अपराधीहरूलाई भारतमा सेल्टर दिएर संरक्षण गर्दै आएका थिए ।

व्यापारीको नाम उल्लेख नगर्ने शर्तमा एसपी ढुंगेलले भने, ‘बब्लुले पर्सासहित मधेशका विभिन्न जिल्लाका व्यापारीलाई फोन गरेर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको देखियो ।’

के थियो मोहम्मद–बब्लु कनेक्सन ?

२०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरियो । उक्त हत्यामा लाल मोहम्मदको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो । पटुवाको हत्यामा मोहम्मदसँगै पप्पु गुप्ताको संलग्नता थियो । काठमाडौं जिल्ला अदालतको आदेशमा मोहम्मद र गुप्ता १० वर्ष जेल सजाय काटेर निस्किएका थिए । पटुवा हत्याकाण्डमा अर्का आरोपी मुन्ना खान भन्ने इल्ताफ हुसेन अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए ।

पटुवा हत्याको भित्री कारण भने भारतीय जाली नोट कारोबारमा कुरा नमिल्नु थियो । लाल मोहम्मदको कनेक्सन हेरेर प्रहरी समेत चकित भएको थियो । उनको सम्बन्ध तत्कालीन समयमा जेल परेका पूर्वमन्त्री सलिममिया अन्सारीका छोरा युनुससँग जोडिएको थियो । युनुससँग मिलेर उनकै सल्लाहमा मोहम्मदले जाली भारतीय नोट र खैरो हेरोइनको कारोबार गर्ने गरेको प्रहरीको निष्कर्ष थियो । मोहम्मदले भारतीय जाली नोट कारोबारमा मलजल गरेको सूचना पाएपछि बब्लु पासवान जोडिए । 

पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर भारत पठाउने समूहसँग मोहम्मदको कनेक्सन देखिए पनि बब्लुले धावा बोले । पटुवाको गोली हानी हत्या गरेर मोहम्मदले जवाफ फर्काए । त्यही बेलादेखि यी दुईको सम्बन्ध पानी बाराबारमा पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।’

गोठाटारमा मारिनु केही समयअघिदेखि भने मोहम्मदले जाली भारतीय नोटको कारोबार छाडेका थिए । उनी ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका थिए । बब्लु भने नेपाल–भारत सीमामा बसेर अपहरण र फिरौतिसँगै लागुऔषध धन्दामा सक्रिय थिए । 

के भन्छ प्रहरी ? 

पर्सा प्रहरीले दिएको जानकारीअनुसार बब्लु हतियार र लागुऔषधसहित भारतबाट रक्सौल नाका हुँदै वीरगञ्ज प्रवेश गरेको सूचना आइतबार राति ११ बजे आएको थियो । सोही सूचनाका आधारमा प्रहरी परिचालित भयो । बी–आर–०५–ए–एल ६१३९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनी भुटनदेवी मन्दिर अगाडि प्रहरीलाई देखेर भाग्न खोजे । प्रहरीले त्यतिबेला दुई राउन्ड फायर गरेर बब्लुलाई नियन्त्रणमा लियो ।

null

बब्लुको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । घाइते भएका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पछिल्लोपटक बब्लुका गतिविधि शंकास्पद मात्रै थिएनन्, उनले नेपालमा अपराध गरेका अपराधीलाई भारतमा सेल्टर दिँदै आएका थिए ।

बब्लुले व्यापारीहरूलाई समेत फोन गरी धम्क्याएर चन्दा उठाउने गरेको गुनासो प्रहरीसम्म पुगेको जानकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले दिए ।

‘पर्सामा मात्रै होइन, मधेशका अधिकांश जिल्लामा बब्लुले आपराधिक गतिविधि गरेका छन्, काठमाडौंमै लाल मोहम्मदको घटनामा उनको संलग्नता देखिन्छ,’ डीएसपी थापाले भने, ‘आइतबार राति अबेर हामीलाई सूचना आयो । रोक्न खोज्दा उनी भाग्न खोजे । स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्‍यो ।’ 

पर्सा प्रहरीले बब्लुविरुद्ध हातहतियार खरखजाना र लागुऔषध ओसारपसारमा मुद्दा चलाएर अनुसन्धान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्