०१ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

सर्वोच्चको परमादेशले कांग्रेस उत्साहित, गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट

जेठ १५, २०८१
काठमाडौं
सर्वोच्चको परमादेशले कांग्रेस उत्साहित, गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
००००
फागुन २१ गते फेरिएको राजनीतिक समीकरणसँगै केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले राहत पुगेको छ ।
सर्वोच्च अदालतले सोमवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले सोमवार गण्डकीका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई खारेज गरिदिएको हो ।

अधिकारीले गत वैशाख २३ गते प्रदेश सभाका ३० सांसदको समर्थनमा विश्वासको मत जितेको दाबी गरेका थिए ।

६० सांसद रहेको गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जनाको समर्थन चाहिनेमा ३० सांसदले नै बहुमत पुगेको दाबी गरिएको थियो ।

सर्वोच्चले सोमवार दिएको परमादेशले प्रदेश सभामा बहुमतका लागि कति सांसद जरुरी हुने भन्ने विवादको पनि निरुपण गरेको छ ।

यसैबीच सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

००००
लामो रस्साकस्सीपछि सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउनेबारे लगभग सहमति जुटेको छ । 
सोमबार बसेको कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठकमा मंगलबार बजेट भाषणअघि संसदीय छानबिन समिति बनाउन समझदारी बनेको नेताहरुले बताएका छन् ।

जसअनुसार गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी र कम्पनीमा व्यक्तिको नलेखी संस्थाको नाममात्र लेख्ने सहमति भएको एक नेताले बताए।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेज थप छलफलका लागि मातहतका कमिटीमा पठाउन निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 
परिमार्जन गरिएका ती दस्तावेज मंगलबार  मातहतका कमिटीमा पठाइने छ ।
००००
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताइन् ।
००००
धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले जमानतमा रिहा गर्न अस्वीकार गर्दै सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिवक्ता अनुपम भट्टराई समेतले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उक्त रिटको पेशी यही जेठ १६ गते बुधबारलाई तोकिएको छ ।
रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग समेत गरिएको छ ।
००००
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ ।
उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कमल भट्टराईको सरुवा भएको छ ।
००००
सोमबार नेप्से परिसूचक ३ दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को विन्दुमा पुगेको हो ।

सोमबार विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ ।
००००
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागिता जनाउन नपाएका क्रिकेटर सन्दीपले लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन् । 
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि खेल्न जान नपाएका सन्दीपले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । 
००००
चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्