२२ जेठ २०८३, शुक्रबार
करोडौंको सामान खेर जाने जोखिम

मालीको शान्ति मिसन रद्द भएपछि सशस्त्रले किनेको ३१ करोडको सामान अलपत्र

जेठ १८, २०८१
काठमाडौं
मालीको शान्ति मिसन रद्द भएपछि सशस्त्रले किनेको ३१ करोडको सामान अलपत्र

द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द भएपछि सशस्त्र प्रहरी बलको ३१ करोड बढी रकम जोखिममा परेको छ । 

मिसन रद्द भएसँगै आवश्यक तयारीका लागि खरिद गरिएका करोडौंका समान अलपत्र अवस्थामा छन् । 

संयुक्त राष्ट्रसंघकै अनुरोधमा सशस्त्र प्रहरीले ३१ करोड १६ लाख १६ हजारमा समान तथा औषधिजन्य वस्तु खरिद गरेको थियो । राष्ट्रसंघले अगस्ट ८, २०२२ मा पत्र पठाउँदै सशस्त्रलाई माली मिसनका लागि फर्मड् पुलिस युनिटमा १४० जनशक्तिको माग गरेको थियो । 

मिसनको आवश्यक तयारीका लागि २३ प्रकारका मालसामान तथा औषधि एवं औषधिजन्य सामग्रीहरूको खरिद सशस्त्रले कल्याणकारी कोषमार्फत गरेको थियो । 

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्र कार्यविधि, २०७४ को दफा १४ मा कल्याणकारी केन्द्रको आर्थिक स्रोतबाट समान खरिद गरिएको थियो । 

सशस्त्रले आवश्यक तयारी पूरा गर्दैगर्दा एकाएक माली मिसन रद्द भएको सूचना आयो । राष्ट्रसंघबाट जुलाई ७, २०२३ फ्याक्समार्फत आएको पत्रमा जुन, २०२३ को संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकबाट माली मिसन रद्द भएको जानकारी गराइयो । 

मिसनका लागि खरिद गरिएका ती सामग्री अहिले कार्यालय परिसरमा रहेको देखिन्छ । मिसनको तयारीमा खर्च भएको पूरै रकम जोखिममा परेको छ । 

यसै विषयलाई लिएर महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१औं प्रतिवेदनमा सशस्त्र प्रहरी मुख्यालयलाई दुईवटा विषयमा ध्यानाकर्षण गराएको छ । पहिलो मिसन तयारीमा भएको खर्चको शोधभर्नाका लागि आवश्यक पहल गर्ने र दोस्रो खरिद गरिएका सामग्रीहरूको उचित व्यवस्थापन गर्ने । 

अहिले सशस्त्रलाई यो रकम कसरी शोधभर्ना गर्ने भन्ने तनाव छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका प्रवक्ता डीआईजी कुमार न्यौपानेले शोधभर्नाको सम्बन्धमा लेखापढी भइरहेको बताए । 

‘राष्ट्रसंघकै पत्रानुसार हामीले तयारी गर्‍यौं । समान र औषधि खरिद गर्‍यौं । मिसन रद्द भयो भन्ने सूचना आयो,’ न्यौपानेले लोकान्तरसँग भने, ‘३१ करोड बढी खर्च भएको छ, त्यसको शोधभर्नाका सम्बन्धमा लेखापढी भइरहेको छ ।’  

सन् २०१३ मा उत्तरी मालीमा एक समूहले हिंसात्मक संघर्ष शुरू गरेपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको थियो । यो मिसनमा १ सय ७० भन्दा धेरै शान्ति सैनिकले ज्यान गुमाइसकेका छन् । नेपाली सेनाले समेत माली मिसनबाट टोली फिर्ता बोलाइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्