
सत्ता समीकरण फेरिने चर्चाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बालकोट निवास बोलाएका छन् ।
कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने चर्चाबीच ओलीले सरकारमा सहभागी दललाई छलफलका लागि बालकोट बोलाएको ओली निकट स्रोतले पुष्टि गर्यो ।
‘दुई ठूला दल एक ठाउँमा आउने स्थितिमा राष्ट्रिय सहमतिकै सरकार बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने किसिमले छलफल भइरहेका छन् । नेताहरू संवादमा जुट्नुभएको छ,’ ओली निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘यसैबीच अध्यक्षले सरकारमा सहभागी भएका एमालेका मन्त्रीलाई छलफलका लागि आजै साँझ बालकोटमा बोलाउनुभएको छ ।’
सरकारमा एमालेबाट ८ मन्त्री सहभागी छन् । मन्त्रिपरिषद् बैठकलगत्तै ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
समीकरण बदल्ने प्रयास स्वरूप ओलीले बालकोटमा शनिबार तीन घण्टा लामो छलफल गरेका थिए । त्यसपछि आइतबार र सोमबार ओली र प्रचण्डबीच घन्टौं लामो वार्ता भएको थियो ।
एमालेबाट सरकारमा ८ जना मन्त्री छन् ।
जसमा रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानून न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्था मन्त्री छन् ।