२२ असार २०८३, सोमबार

सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ

साउन १०, २०८१
काठमाडौं
सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ

काठमाडौँको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका–२ ककडी घर भइ हाल काठमाडौँको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका–५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यमनारायण चौधरीलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वेराज खड्काले जानकारी दिए । 

गत मङ्गलबार काठमाडौँको सिभिल अस्पतालमा पार्किङ गरिराखेको बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी भएको भन्दै भक्तपुरका मनिषबहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु२२प ८५२० नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका खड्काले बताए । उनीहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारसमेत बरामद भएको छ ।
    
चोरी गरेको बागमती प्रदेश ०२–०४३ प ०९९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि आजै प्रहरी वृत्त नयाँबानेश्वरमा बुझाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस लकलगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्