
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका समकक्षी डा. एस. जयशंकरसँग राजधानी नयाँ दिल्लीमा भेट गरेपछि नेपाल-भारतबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेकी छिन् ।
सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।
'नयाँ दिल्लीमा हामीबीच फलदायी भेटवार्ता भयो,' उनले लेखेकी छन्, 'हामीले द्विपक्षीय चासोका विषय, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोगको आदान-प्रदानबारे छलफल गर्यौं । यो भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धलाई थप सुदृढ बनाउनेमा म विश्वस्त छु ।'
मन्त्री देउवा भारतीय समकक्षी जयशंकरको निमन्त्रणामा आइतबारबाट दिल्ली भ्रमणका छन् ।
उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।