
अमेरिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन स्विप गर्न नेपालले १५७ रनको टार्गेट पाएको छ । सोमबार बिहान सिरिजको तेस्रो तथा अन्तिम खेलमा डालासस्थित घरेलु टोलीले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन बनायो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९, कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र लिलित राजवंशीले समान एक/एक विकेट लिए ।
नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।
टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।