
पछिल्ला केही दिनदेखि भारतको राजधानी दिल्लीमा उच्च वायु प्रदूषण रेकर्ड गरिएको छ । शनिबार बिहान पनि दिल्लीमा प्रदूषण निकै खतरनाक स्तरमा रेकर्ड गरिएको भारतीयसञ्चार माध्यमहरूले जनाएका छन् ।
बिहान ७ बजे दिल्लीको एयर क्वालिटी इन्डेक्स ४०० भन्दा माथि थियो ।
प्रदूषणलाई ध्यानमा राख्दै मुख्यमन्त्री अतिशीले सरकारी कार्यालयका लागि नयाँ समय घोषणा गरेकी छन् । केन्द्र सरकारका कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म, दिल्ली सरकारका कार्यालयहरू बिहान १० बजेदेखि साँझ साँझ साढे ६ बजेसम्म र एमसीडी कार्यालयहरू बिहान साढे ८ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने दैनिक भास्करले जनाएको छ ।
दिल्लीका सबै प्राथमिक (कक्षा ५ सम्म) विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा शुक्रबार नै गरिएको थियो। अब कक्षा ६ देखि १२ सम्मका विद्यालयमा मास्क अनिवार्य गर्ने निर्णय गरिएको छ ।
सरकारले निजी सवारीसाधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यसका लागि १०६ थप क्लस्टर बस र मेट्रोका थप ६० ट्रिप बढाइएको छ ।
एयर कमिशन फर एयर क्वालिटी म्यानेजमेन्टले एनसीआर अर्थात् हरियाणा, उत्तर प्रदेश र राजस्थानबाट आउने बसहरूलाई दिल्ली आउन प्रतिबन्ध लगाएको छ ।