२९ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

म्याद थपका लागि रविलाई अदालत लगिँदै

मंसिर २३, २०८१
काठमाडौं
म्याद थपका लागि रविलाई अदालत लगिँदै

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज आइतबार अदालत लैजाने भएको छ ।

कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको १५ दिनको म्याद थप आइतबार सकिँदैछ । उनीमाथि अनुसन्धान नसकिएकाले पुन: म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी श्यामबाबु ओलियाले जानकारी दिए । 

गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका रविलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । 

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । 

यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ । 

रविका साझेदार एवं गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले सहकारी ठगीको मुख्य आरोपी बनाएर मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अर्का आरोपी नेपाल प्रहरीका पूर्व डीआइजी एवं गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई पनि मतियारकै रूपमा मुद्दा लैजाने तयारी रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

ती अधिकारीले भने,‘कास्कीको हकमा सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, सम्पत्ति शुद्धीकरण, किर्ते र संगठित अपराधमा म्याद थप भएर अनुसन्धान भएकाले मुद्दा बुझाउन अझै केही दिन लाग्ने देखिन्छ ।’

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका रविले चार जिल्लाहरू क्रमशः कास्की, रुपन्देही, चितवन र काठमाडौंमा इन्कारी बयान दिएका छन् । तर, प्रहरीले फेला पारेका प्रमाणलाई उनले चित्तबुझ्दो जवाफ नदिएकै कारण अदालतले म्याद थप गर्दै आएको ती अनुसन्धान अधिकृतले बताए । 

जिल्ला अदालत पर्साबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसकारण उनलाई बयानका लागि पर्सा पनि लैजाने प्रहरीको तयारी  छ। 

‘कास्की प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अब रविलाई पर्सास्थित सरकारी वकिल कार्यालयमा बयानका लागि पठाएर पुनः कास्की ल्याएपछि मुद्दा बुझाउने तयारी हुन्छ’, प्रहरी प्रवक्ता, डीआईजी दानबहादुर कार्कीले भने । 

salt training

कमेन्ट गर्नुहोस्