
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरेको थियो । कर्णालीले भने एलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
बिहीबारको दोस्रो क्वालिफायरमा ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि जिमी निशमले १७ बलमा ४५ र हर्ष ठाकेरले १७ रन बनाए ।
निशम आउट भएपछि मयान यादवले १८ बलमा १४ र शेर मल्लले १० बलमा १६ रनको महत्त्वपूर्ण पारी खेलेपछि लो स्कोरिङ म्याचमा जनकपुर जित्न पुग्यो ।
एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थानमा रहने टोलीले २५ लाख प्राप्त गर्नेछन् ।