
गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।
आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै उनले बिहीबार कार्यालयको राहदानी शाखामा तोडफोड गरेका हुन् । उनले शाखाको स्क्यानर मशिन फोडेको कार्यालयले जनाएको छ ।
स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले शुक्रबार पनि राहदानीको काम नहुने बताए ।

तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी हिजै साँझ छुटेका छन्। लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।
अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए। ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ। मैले सिस्टमको विरोध गरेँ, नागरिकलाई सेवा दिन गरिएको माग सुनिएन। आवेगमा स्क्यानर फुटाएँ।’