
मंगलबार बिहान ‘मर्निङवाक’ निस्केकी मोरङ जहदाकी एक युवती बलात्कारमा परिन् । पीडित युवतीकी दिदी र प्रहरीले उनीमाथि सामूहिक बलात्कार भएको आशंका गरिरहेका बेला उनले आफूमाथि घटेको घटनाबारे जानकारी गराएकी छन् ।
मंगलबार दिउँसो अर्धचेत अवस्थामा उद्धार गरिएकी उनको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक उपचारपछि उनले आफूमाथि मंगलबार बिहान बलात्कार भएको बयान दिएकी छन् ।
उनले प्रहरीलाई बताए अनुसार उनलाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा पुर्याएका थिए ।
त्यहाँ लगेलगत्तै हातखुट्टा बाँधेर आफूमाथि जबर्जस्ती करणी भएको पीडित युवतीले प्रहरीलाई बताएकी छन् ।
‘दुई जनाले हातखुट्टा समाए । एक जनाले जबर्जस्ती करणी गरे’, पीडितको भनाइ उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले भने ।
उनीमाथि सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको छ । मेडिकल रिपोर्ट भने आइनसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टा बस्ने १९ वर्षीय मो. गुलजार छन् ।
यस घटनामा अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । फरारको हकमा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।
कटहरी-२ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा ती युवती मंगलबार दिउँसो अर्धचेत अवस्थामा फेला परेकी थिइन् । गाई वस्तुका लागि पराल लिन गएकी महिलाले ती युवतीलाई अर्धचेत भेटेपछि प्रहरीलाई खबर गरिएको थियो ।
उपचाररत ती युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।