३० असार २०८३, मंगलबार

एकसाथ पत्रकार सम्मेलन गरेर के भने ओली र प्रचण्डले ?

कात्तिक २९, २०७४
एकसाथ पत्रकार सम्मेलन गरेर के भने ओली र प्रचण्डले ?

काठमाडौँ, २९ कात्तिक — वाम गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताएका छन् ।  

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उनीहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गरे । उनीहरुले  निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत गर्दै मुलुकलाई सुशासित र लोकतान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने धारणा व्यक्त गरे । 
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको उल्लेख गर्दै आफूहरुको तालमेल र एकता कुनै पक्षको विरोधमा नभई मुलुकको समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि भएको बताए । 

उनले  वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गरे । ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिए । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनबाट अत्तालिएर काँग्रेसका नेता एवं सरकारका मन्त्रीहरु नै आधारहीन तथा कपोलकल्पित भ्रम फैलाउन र निर्वाचन आचारसंहिता विपरीतका काममा उद्धत रहेको आरोप लगाए। 

अध्यक्ष दाहालले विगतमा कम्युनिष्टहरुले ‘बूढाबूढीहरुलाई मार्छन्’ भन्ने भ्रम फैलाइए पनि मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले वृद्ध भत्ताको कार्यक्रम ल्याएर गतिलो जवाफ दिएको स्पष्ट गरे । उनले आफूहरुको पार्टी एकताको निर्णय जनताको सम्पति भइसकेकाले कसैले रोक्न नसक्ने अठोट व्यक्त गरे ।  

कार्यक्रमको अध्यक्षता चौतारीका अध्यक्ष गणेश बस्नेत र सञ्चालन सेन्टरका अध्यक्ष महेश्वर दाहालले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्