
मोरङ र सुनसरीमा विभिन्न दलका नेता कार्यकर्तासँग भेटेपछि नेकपा एमालेबाट निष्कासित भीम रावल उत्साहित देखिएका छन् ।
शनिबार कोशीका दुई जिल्लामा कार्यक्रम सकेपछि उनले वैकल्पिक राजनीतिक पाइला चाल्नुपर्ने अवस्थामा पुगेका प्रतिक्रिया दिएका छन् ।
काठमाडौं फर्कनु अगाडि नेता रावलले विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राजनीतिक दलहरू सिद्धान्त, नीति, दर्शनका आधारमा चल्न नसक्दा त्यसको वितृष्णा जनतामा देखिएको बताए ।
ठूलो पदमा पुगेपछि जापानमा गएर मान्छे बेच्ने, नेपालीलाई भुटानी शण नार्थी भनेर बेच्ने,सहकारीको अरबौं अरब पैसा अपचलन गर्ने, सुन भारीका भारी बोकेर हिँड्नेजस्ता विकृति रहेकाले यसलाई रोक्नका लागि वैकल्पिक राजनीतिक पाइला चाल्नुपर्ने अवस्थामा पुगेका उनले बताए ।
अहिलेको देशको स्थितिप्रति धेरैमा नैराश्यता, आक्रोश र परिवर्तनको चाहना पाएको उनले बताए । ‘जग्गा बाँझा छन्, देश रित्तिन आँट्यो, घरहरू खाली छन्, युवाहरू अर्काकोमा निम्न स्तरको काम गरी रहेका छन्, हाम्रो अवस्था जर्जर छ, यसबाट देशलाई जोगाउन अब केही गर्नुपर्छ भन्ने सुझाव आएका छन्,’ उनले भने ।
अहिले मातृभूमि जागरण अभियानको तर्फबाट जोडेर सङ्गठित गर्दै लैजाने उनले बताए । कस्तो दल खोल्ने भन्ने उनले प्रस्ट पारेका छैनन् ।
राजावादीदेखि अन्य दलका कार्यकर्तालाई भेटेका उनले वामपन्थी र दक्षिणपन्थी भन्ने नेपालमा खाने मेलो मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
केपी ओलीलाई गाली गरेर तपाईंको पार्टी बन्छ भन्ने प्रश्नमा उनले कसैलाई गाली नगरेको दाबी गरे । गाली गरेको भन्ने आरोप बामालेले भन्ने कुरा मात्रै रहेको उनले बताए ।
'काठमाडौंमा मोनोरेल चलाउने भन्नुभएको थियो, के गर्नुभयो सोध्नु यो गाली हो ? युवाहरू देश छाडेर मुग्लान जाँदै छन्, तपाईंले रोजगारी दिन्छु भन्नुभएको थियो, के गर्नुभयो ? भन्नु गाली हो,' प्रतिप्रश्न गर्दै उनले भने ।
खेलकुद कार्यक्रममा क्लबका मान्छेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै थर्काएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीले नै आफैं रोक्न लगाएको थाहा पाएको छु’, उनले भने ‘एउटा क्लबले गर्ने भनेको कार्यक्रममा धाकधम्की दिएर रोकिएको छ ।’
सुनसरीको भरौलमा भेट्रान फूटबल प्रतियोगिता उद्घाटन गर्नेगरी पूर्व आएका रावल उक्त कार्यक्रम रोकिएपछि भेटघाटमा व्यस्त बनेका थिए ।
प्रतियोगिता पुस २२ गतेलाई सरेको आयोजकले जनाएको छ ।