
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले र माओवादी केन्द्रले एकैदिन सुरु गरेर एकैदिन केन्द्रीय कमिटी बैठक सम्पन्न गरेका छन् । आइतबारदेखि एमालेको पार्टी कार्यालय च्यासल र माओवादीको धम्बाराहीस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको थियो भने दुबै पार्टीले अभियान सञ्चालन गर्नेसहितका निर्णय गर्दै मंगलबार बैठक सम्पन्न गरेका हुन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त गर्दै ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरू नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरे । बैठकबाट उनको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।
बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताएका हुन् ।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । सोही बैठकबाट उनको राजनीतिक प्रतिवेदन पारित भएको छ भने ६ महिना अभियान र ५ महिना तयारी गरेको विशेष महाधिवेशन गर्ने निर्णय भएको छ ।
००००
सहकारीको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोस्रोपटक बयान लिएको छ ।
ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभको रकम अपचलन प्रकरणमा गुरुङसँग सीआईबीले फेरि बयान लिएको हो ।
यसअघि गत कात्तिक २८ गते सीआईबीले उनीसँग पाँच घण्टा बयान लिएको थियो । मंगलबार पनि पाँच घण्टा नै बयान लिइएको सीआईबीका प्रवक्ता, एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
००००
सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ ।
००००
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा श्रव्यदृश्य सामाग्री झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले ‘विवादित भनिएको’ वक्तव्यको श्रव्यदृश्य झिकाउने आदेश दिएको हो ।
००००
सरकारले सशस्त्र प्रहरीका चार जना डीआईजीको पदावधि थप गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।
साताको तेस्रो कारोबारका दिन परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो ।
००००
इजरायलले छनोट गरेका विभिन्न ५ संस्थाले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।
दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर)को स्वास्थ्य परीक्षण गर्न छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनीहरूले नै स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुलेको हो ।
००००
ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
सोमबार राति प्रोलिंक सोलुसन नामक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको हो ।
००००
मंगलबार नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सिमाना दिंगेकान्टी रहेको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । केन्द्रका अनुसार दिंगेकान्टी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
भूकम्पबाट तिब्बतमा धनधनको ठुलो क्षति भएपनि नेपालतर्फ खासै क्षति भएको छैन । भूकम्पको धक्का केही जिल्लामा कडा महसुस भएको थियो भने विभिन्न स्थानमा घरहरु चर्किएका छन् ।
नेपालमा पछिल्लो समय एकपछि अर्को भूकम्पका धक्काहरु आइरहेका छन् । पछिल्लो २२ दिनको अवधिमै ११ वटा भूकम्पका धक्का आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ती सबै ४ म्याग्निच्युड भन्दा माथिका हुन् ।