३० असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

रवि जोडिएको मुद्दामा उच्च अदालत जाने तयारी, उत्कृष्ट गन्तव्यको सूचीमा लुम्बिनी

पुस २८, २०८१
काठमाडौं
रवि जोडिएको मुद्दामा उच्च अदालत जाने तयारी, उत्कृष्ट गन्तव्यको सूचीमा लुम्बिनी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । 

कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।
००००
सहकारी ठगी प्रकरणमा कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छोड्ने निर्णय गरेपछि सरकारी वकिल कार्यालय उच्च अदालत जाने भएको छ ।

प्रतिवादी सातै जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध पीडित र सरकारी वकिल कार्यालय उच्च अदालत जाने तयारीमा जुटेका हुन्। स्रोतका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै आइतबार नै उच्च अदालतमा निवेदन दर्ता गर्ने उनीहरूको तयारी छ ।
००००
विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । 

हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
००००
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौलपुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतीय ट्रकको अत्याधिक भारका कारण नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल भाँचिएकाले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई तत्काल भारतीय मालबाहक सवारीसाधनको तौल लिने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
००००
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रतिनिधि सभाको आगामी अधिवेशनमा पेश गर्न गृह मन्त्रालयलाई स्वीकृति दिएको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी बनेका छन् ।

पृथ्वीनारायण शाहको ३०३औं जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा उनी सहभागी बनेका हुन् । शनिबार विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइयो । 
००००
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनजस्तो देखिने धातुसहित ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरीको इटहरी उपमहानगरपालिका १९ घर भएका २७ वर्षीय शिव शंकर चौधरी रहेका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
००००
थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ ।

टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए।
००००
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । 

केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्