
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ ।
‘प्रारम्भिक अनुसन्धानमा ललित केसीलाई पक्राउ गरेका हौं। थप अनुसन्धान हुँदैछ’, एसएसपी रजौरेले भने ।
बुधबार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत अगाडि हातपात गरिएको थियो । हातपातमा संलग्न बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ । रास्वपाले भने आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने बताएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको हातपातको घटनाबारे काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ ।
त्रिपाठीले रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा पीडित पक्षका तर्फबाट बहस गर्दै आएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा यो मुद्दामा थुनछेक बहस थियो । अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् ।