
प्रहरीले एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेर दश लाख रकम मागेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया आचार्य थरकी युवती छन् ।
प्रहरीका अनुसार उनले राइस कुकर बनाउने बहानामा पीडितलाई पटक पटक फोन गरेर बोलाएकी थिइन् । पछि उनले पीडितसँग जबर्जस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै १० लाख रूपैयाँ फिरौती मागेकी थिइन्।
शुरूमा चेकमार्फत तीन लाख लिई बाँकी ७ लाख एक हप्ताभित्र बुझाउने सर्तमा रकम असुली गरेको प्रहरीले जनाएको छ ।
पीडितले प्रहरीमा उजुरी गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ती युवतीलाई मंगलबार कुलेश्वरबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको एसपी आचार्यले जानकारी दिए ।
ती युवतीको साथबाट उनका नाममा काटिएको नबिल बैंकको तीन लाख रूपैयाँको चेक एक थान र आईफोन एक थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।