
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेतासँग छलफल गरेका छन् । पछिल्लो समय समूहका नेताहरू असन्तुष्ट भइरहेका बेला देउवाले आफूलाई १४औं महाधिवेशनमा जिताउन भूमिका खेल्ने नेताहरूसँग छलफल गरेका हुन् ।
देउवा निकट स्रोतका अनुसार देउवाले उपसभापति पूर्णबहाुदर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, एनपी साउँदसहितका नेतासँग छलफल गरेका हुन् ।
‘आफ्नो टिमका नेताहरूसँग नबसेको लामो समय भएको थियो । यसैले बिहान साढे ९ बजेदेखि १२ बजेसम्म सभापतिले छलफल गर्नुभएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘छलफलमा पार्टीको आन्तरिक राजनीति, समसामयिक राजनीतिक विषयसहितमा छलफल भएको छ ।’
पछिल्लो समय देउवा टिमका नेताहरू एनपी साउँद, बालकृष्ण खाँण, प्रकाशरण महत र गोपालमान श्रेष्ठसहितका नेताहरू असन्तुष्ट हुन थालेका छन् । यसैले छलफलका निम्ति देउवाले निवासमा बोलाएको देखिएको छ ।
१५औं महाधिवेशनमा सभापतिमा देउवाको दाबेदारी नहुने भएपछि नेताहरू असन्तुष्ट हुँदै ध्रुवीकरणको तयारीमा लागेको हुन् ।