
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन् ।
नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै नेता डा. कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताए । ‘सरकारले यो कुरालाई गम्भिरतापूवर्क लिनुपर्दछ’, उनले भने ।
संसद् शुरू हुनु केही दिनअघि मात्र सरकारले अध्यादेश ल्याएकामा नेता डा. कोइरालाले आपत्ति व्यक्त गरे । चित्त नबुझेका काममा सरकारलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले जनताका मुद्दालाई केन्द्रीयस्तरको बहसमा ल्याउन प्रेसजगतले काम गरिरहेको बताए । पत्रकार र राजनीतिक दलका कार्यकर्तामा विवेक र संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै उनले समाजिक सञ्जाललाई नियमन गरिनुपर्ने बताए ।
‘सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध र बन्देज गरिनुहुन्न’, नेता साउँदले भने ।