
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाटै सभापतिसहितको नेतृत्व र पार्टीका उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव बहसमा ल्याएका छन् ।
सोमबार प्युठानमा भएको एक कार्यक्रममा थापाले गुटबन्दी सधैंको रोग रहेको भन्दै पार्टीका सदस्यबाटै नेतृत्व र उम्मेदवार चयन गर्न सकिए पार्टीपंक्ति र नागरिक नै बलियो हुने दाबी गरेका हुन् ।
‘पार्टीमा गुट/उपगुट समाप्त गर्ने हो भने एउटा अचुक अस्त्र छ । अब १५औं अधिवेशनमा तह–तहको अधिवेशन गर्न प्रतिनिधि छान्ने विधि बदलेर देशभरका क्रियाशील सदस्यले सिधा मत हालेर कांग्रेसको सभापति निर्वाचित गरौं,’ प्रभावशाली नेता समेत रहेका थापाले भने, ‘तपाईंको क्रियाशील सदस्यताको एक भोटले कांग्रेसको सभापति छानिने, तपाईंको एक भोटले प्युठान कांग्रेसको सांसदको उम्मेदवार छानिने भयो भने तपाईंसँग कति ठूलो तागत हुन्छ ? त्यो तागत ल्याउने कुरा हाम्रो हातमा छ । यो सन्दर्भमा पनि बहस गरौं, छलफल गरौं ।’
प्युठानको कार्यक्रममा लुम्बिनी सभापति अमरसिंह पुन र केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले गुटबन्दीको कुरा उठाएपछि थापाले यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेसमा तल्लो तहदेखि नै प्रतिनिधि छानिँदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट पार्टी नेतृत्व चुन्ने महाधिवेशन प्रतिनिधि छानिँदै आएका छन् ।
पालिका तह, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभाका उम्मेदवार भने पार्टी केन्द्रले टुंग्याउँदै आएको छ । तर, यस्तो प्रक्रियामा पार्टीका परम्परागत गुटमात्रै हावी हुने गरेको भन्दै थापाले प्रत्यक्ष मतले गुटबन्दीलाई सधैंका लागि अन्त्य गर्ने दाबी गरेका हुन् ।
‘तपाईंले मत हालेर निर्वाचित गर्ने र यहाँ प्युठानमा सांसदको उम्मेदवार को हुन पाउँछ भन्ने कुरा काठमाडौंमा बसेको नेताले होइन, प्युठानको क्रियाशीलले जसलाई छान्छ, उसैलाई उम्मेदवार बनाउन पाउने पद्धति विकास गर्यौं भने यहाँ गुट-सुट केही पनि रहँदैन,’ थापाले भनेका छन्, ‘कोही काठमाडौं जाँदैन । काठमाडौंमा मलाई भेट्न आउँदै गर्दा तपाईंहरूको टिकटमा खर्च हुन्छ । खोज्ने, भेट्ने, नमस्कार गर्ने भोलि टिकट पाइन्छ कि भनेर हो । तपाईंलाई टिकट पालिकाको क्रियाशील दिने हो भने उम्मेदवार हुन चाहने नेता मञ्चमा नबसेर तल चौरमा बस्छन् ।’
यस्तो विकल्पले पार्टी प्रणाली र व्यवस्था नै बलियो हुने दाबी थापाको छ ।
‘नेताको छेउमा बसेर टिकट पाइँदैन, जनताबीच बसेर पाइन्छ भने त्यही मान्छे तपाईंकोमा आउँछ,’ थापाले भनेका छन्, ‘तपाईंलाई बलियो बनायो भने पार्टी बलियो हुन्छ । तलको आधार पार्टीपंक्ति बलियो भए माथि बलियो हुन्छ । प्रजातन्त्र भनेकै नागरिकलाई बलियो बनाउनु हो ।’
तर, गुटबन्दीकै आधारमा सदस्यता वितरणदेखि प्रतिनिधि चयन र नेतृत्व चयनको अभ्यास गरिरहेको कांग्रेसमा थापाको प्रस्ताव पारित हुन गाह्रो छ । किनकि विरासतको बल, समूह र संरक्षणको राजनीति कांग्रेसमा संस्कारको रूपमा लामो समयदेखि स्थापित हुँदै आएको छ ।
सह–महामन्त्री महेन्द्र यादव कांग्रेसमा बीपी कोइरालाले विधान बनाएदेखि नै अहिलेको प्रक्रिया वैज्ञानिक रहेको बताउँछन् ।
‘महामन्त्रीजीको यो प्रस्ताव सम्भव र व्यवहारिक छैन, किनकि बीपी कोइरालाले २०१७ सालमा पहिलो महाधिवेशनमा विधान बनाएदेखिकै प्रक्रिया व्यवहारिक र वैज्ञानिक छ,’ यादवले भने, ‘कांग्रेसमा अरू दलको जस्तो छैन । वडा स्तरबाटै चुनाव हुन्छ । चुनावबाटै महाधिवेशन प्रतिनिधि छान्ने सदस्य हुन्छन् । तिनै सदस्यले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छान्छन् । अनि उनीहरूबाटै नेतृत्व चयन हुन्छ । यस्तो प्रणाली अरू दलमा छैन । हामीमा उन्नत अभ्यास र उदारता भने किन बदल्ने ?’
कांग्रेसमा बुझेकालाई जिम्मेवारी दिने, १५ वर्ष क्रियाशील सदस्य भएकाले मात्रै उम्मेदवार बन्न पाउने भएपनि अहिले अर्को विकल्प भन्नु सस्तो लोकप्रियता भएको उनको भनाइ छ ।
‘कांग्रेसमा बुझेकाले जिम्मेवारी पाउँछन् । राजनीतिमा लामो अवधि अर्थात् १५ वर्ष क्रियाशील सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाइन्छ,’ यादव भन्छन्, ‘अरू दलमा अभ्यास नभए पनि तलबाट माथिसम्मै चुनाव हुँँदै आएको छ । यसैले युवाको नाममा सस्तो लोकप्रियताको कुनै अर्थ छैन । महामन्त्रीको व्यक्तिगत विचार हो, कांग्रेस पार्टी अहिले त्यतातर्फ जाँदैन ।’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले गगनले पार्टी सुधार र रुपान्तरणको बहस यसअघिदेखि उठाउँदै आएको बताउँछन् ।
‘गगनजीले विगत लामो समयदेखि पार्टी सुधार र रूपान्तरणका केही प्रमुख एजेन्डा उठाउँदै आउनुभएको छ । सदस्यबाटै प्रत्यक्ष निर्वाचित नेतृत्व, प्राइमरी निर्वाचनबाट सबै निकायका उम्मेदवार चयन गर्नुपर्ने उहाँको प्रस्ताव छ,’ वाग्लेले भने, ‘विभिन्न क्षेत्रका व्यावसायिक, स्थापित, बौद्धिक, विशेषज्ञहरूलाई विशेष प्रक्रियाद्वारा पार्टीमा प्रवेश, एकल सदस्यता प्रणाली, मासबेस्ड पार्टी, आन्तरिक लोकतन्त्र, विधि र विधानसम्मत पार्टी सञ्चालन, आर्थिक पारदर्शिता र पार्टी कोषलगायत उहाँले उठाउँदै आएका प्रमुख एजेन्डा हुन् ।’

गत महासमिति बैठकमा पनि थापाले यी एजेन्डालाई समेटेर ल्याएको पार्टी सुधार र रूपान्तरणको मार्गचित्रको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको वाग्लेले बताए । अहिले यी प्रस्ताव कार्यान्वयनको प्रक्रियामा रहेको वाग्ले बताउँछन् ।
गुटबन्दी अन्त्य र रूपान्तरणका लागि कांग्रेसले यो विधिबारे घनिभूत छलफल गर्नुपर्ने वाग्लेको सुझाव छ ।
‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सुधार र रूपान्तरणको बहस प्रारम्भ भएको हुँदा उहाँले उक्त मुद्दा उठाउनु स्वाभाविक हो । यी विधि र प्रक्रिया अनुसरण गरियो भने पार्टी र नेतृत्व दुवै जनताप्रति उत्तरदायी हुन्छन् । यसले पार्टीमा व्याप्त गुटबन्दी पनि न्यूनीकरण गर्छ,’ वाग्लेले भने, ‘केवल कांग्रेसले मात्रै होइन, अरू पार्टीले पनि यस्तो विधि र प्रक्रिया अनुसरण गर्नु उपयुक्त हुन्छ, किनभने यस्तो विधि र प्रक्रियाले पार्टीलाई मौलिकरूपमा सुधार र रूपान्तरण गर्छ । त्यसैले यो उपयुक्त विकल्प हो । यसबारेमा पार्टी र सार्वजनिक वृत्तमा समेत घनिभूत छलफल, बहस र विमर्श गर्नु आवश्यक छ ।’
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी गुटबन्दी गिरोहमा परिणत भइरहेको स्थितिमा थापाबाट यस्तो प्रस्ताव आएको बताउँछन् । ‘महामन्त्रीले गुटबन्दी अन्त्य र आम कार्यकर्ताको पक्षमा यो प्रस्ताव राख्नुभएको होला, किनकि गुटको गहिराइ, बहुध्रुव र स्थायी गुट गिरोह बनिरहेका छन् । जनताको होइन, नेतृत्वको वरिपरि घुम्ने काम मात्रै भएको छ,’ सिवाकोटीले भने, ‘यस्ता समस्या चिर्ने उपायको रूपमा यो ठीक होला, तर यसमा पार्टीको सैद्धान्तिक विषय बन्दा हामीलाई संसदीय व्यवस्थाको सट्टामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा के गर्ने भनेर प्रश्न उठ्न सक्छ । बहुलता र विविधतामा विश्वास गर्ने विचारलाई बन्ध्याकरण गर्न सक्ने भएकोले सचेततापूर्वक यसलाई हेर्नुपर्छ ।’
महामन्त्रीले पनि पोजिसनभन्दा विकल्पमा यो प्रस्ताव उठाएको हुनसक्ने सिवाकोटी बताउँछन् ।
थापाको रणनीतिक प्रस्ताव
कतिपय नेताले महामन्त्रीको यो प्रस्तावलाई रणनीतिक पनि मानेका छन्, किनकि १५ औं महाधिवेशनमा थापाले पनि सभापतिमा दाबेदारी गरिरहेका छन् ।
दाबेदारीलाई वास्तविकतामा बदल्न थापाले २ प्रभावशाली गुटलाई पाखा लगाउनुपर्ने हुन्छ । एकातिर संस्थापन (देउवा) र अर्कोतिर इतर (डा. शेखर कोइराला) गुटलाई परास्त गर्न सके मात्रै थापा सभापति हुने स्थिति छ । परम्परागत गुटका रूपमा देउवा र शेखर समूह बलियो भए पनि लोकप्रियताको आधारमा थापा निकै अगाडि छन् । यसैले थापाले यसलाई रणनीतिक विषय बनाएको नेताहरू बताउँछन् ।
‘कांग्रेसमा गुट नै बल हो भन्ने अवस्था छ । महाधिवेशन, चुनावमा टिकट बाँडफाँड होस् या मन्त्री बनाउने विषय नै किन नहोस्, टाउको गनेर भागबण्डा गरिँदै आएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘महामन्त्रीजी पार्टी नेतृत्वकै लागि आकांक्षी हुनुहुन्छ । तर, सम्मुखमा २ शक्तिशाली गुट र तिनका उपगुट अझै अस्तित्वमा छन् । आफ्नो लोकप्रियताको बलमा यसलाई चिर्ने बहसको खोजीमा उहाँ हुनुहुन्छ । तर, उहाँलाई सजिलै एजेन्डामा छलफल गराउने सामर्थ्य जुटाउन गाह्रो छ ।’
थापाको रणनीतिक कदमलाई कुनै पनि समूहका नेताले साथ नदिने ती नेता बताउँछन् ।
‘उहाँले सरकार र पार्टी नेतृत्वको विषयमा सकारात्मक अभिव्यक्ति दिँदा ११ भाइ सभापतिको निवासमा पुगेर रोक्न खोजे । उहाँ रहेकै समूहले उहाँलाई नेतृत्वमा ल्याउन चाहेको छैन,’ कांग्रेसका ती नेता भन्छन्, ‘पार्टी पंक्तिमात्रै होइन, पार्टीबाहिर पनि महामन्त्रीजी लोकप्रिय हुनुहुन्छ । तर, लोकप्रियताको बलमा उहाँले बोलेका रणनीतिक कुराविरुद्ध सबै समूहका नेता एक ठाउँमा उभिन्छन् ।’