०२ साउन २०८३, शनिबार

एमाले मोरङमा किचलो : सँगै खाना खाने भन्दै संस्थापनका नेतालाई होटेलमा बोलाइयो

चैत ७, २०८१
विराटनगर
एमाले मोरङमा किचलो : सँगै खाना खाने भन्दै संस्थापनका नेतालाई होटेलमा बोलाइयो

नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनपछि पहिलो पूर्ण बैठक आज बस्दै छ । बैठक बस्नुअघि संस्थापन पक्षले पक्षले छुट्टै भेला गरिरहेका छन् । उनीहरूले बुधबार पनि विराटनगरको एक होटेलमा छलफल गरेका थिए । आज फेरि हिजोकै भेलालाई निरन्तरता दिएको नेताहरूले बताएका छन् । 

हिजै बैठक सकियो भनेका नेताहरूले आज बिहानै फेरि सँगै खाना खाने भन्दै आफू पक्षका जिल्ला सदस्यहरूलाई बोलाएका हुन् । ‘हिजो बैठक सकिएको भनेर हामी हिँडेका थियौं,' एक जिल्ला सदस्यले भने, ‘आज फेरि सँगै खाना खाने भनेर बोलाइएको छ । ’ 

ती जिल्ला सदस्यका अनुसार आज समूहले टोली नेता छान्ने छ । टोली नेताले जिल्ला कमिटीको बैठकमा आफ्ना पक्षका भनाइहरू राख्ने छन् । 

जिल्ला अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक आज (बिहीबार) बिहान ११ बजेदेखि बस्दै छ ।

पदाधिकारीमा इतरपक्ष (पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको समूह)ले क्लिन स्वीप गरेपछि संस्थापन पक्ष थप रणनीति बनाउन सक्रिय भएको छ । 

दुवै समूहले आफूसँग बहुमत रहेको दाबी गरेका छन् । संस्थापन पक्षले आफूसँग १०९ जना रहेको दाबी गरेको छ भने इतर समूहले आफूसँग बहुमत रहेको दाबी गरेको छ । 

बैठकमा उठाउने एजेन्डासमेत अहिले बस्ने बैठकले पारित गर्ने नेताहरूले बताएका छन् । 'हिजोको बैठकमा केही एजेन्डा पेस गरियो,' एक नेताले भने, 'राति केही नेताहरूले दिनुभएको सुझावलाई समेटेर तिनै एजेन्डा बैठकमा उठाइन्छ ।'

संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका राजकुमार ओझा, प्रदेश समिति सदस्य पर्शुराम बस्नेत, जिल्ला समन्वय समिति मोरङका पूर्वप्रमुख नरेश पोख्रेललगायतले समूहको नेतृत्व गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्