काठमाडौं, ५ माघ — प्रायः जग्गा/जमीन र सम्पत्तिका लागि झगडा मात्रै हुँदैन, काटमारसम्मका घटना पनि भइरहेका हुन्छन् । सबैलाई सम्पत्ति जोड्न मन लाग्छ । तर सप्तरी राजबिराजका जोगेन्द्र भगतलाई चाहिँ आफूसँगको भएको सम्पत्ति सकेसम्म चाँडो घटाउन मन लागिरहेको छ ।
‘आफूसँग भएको धेरैजस्तो जग्गा बाँडेर सकें, बाँकी रहेको पनि चाँडो चाँडो बाँड्न खोजिरहेछु,’ भगतले निकै फुर्तिलो आवाजमा लोकान्तरलाई सुनाए, ‘शुरुमा कमाएँ, जग्गामा लगानी गरें, अहिले चाहिँ बाँड्न भ्याई नभ्याई छ ।’
नाम — जोगेन्द्र भगत । उमेर — ७१ वर्ष । ठेगाना — राजबिराज नगरपालिका, सप्तरी । उनको परिचय यही हो । साथसाथै आफूलाई मधेसको समाजसेवीको रूपमा पनि परिचित गराएका छन् । काम पनि त्यस्तै गरेका छन् । उमेरमा कमाएको सम्पत्ति आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि बाँडिरहेका छन् ।
माघ ३ गते राजविराजमा एउटा भव्य कार्यक्रमका बीच उनले ३० करोडको सम्पत्ति नेपाल प्रहरीका लागि प्रहरी अस्पताल सञ्चालन गर्नका लागि दान दिए । राजबिराज र शम्भुनाथ नगरपालिकामा भएको जमीन उनले बाँडिरहेका छन् ।
‘दुई बिगाहा पाँच कठ्ठा जमीन प्रहरी अस्पताल सञ्चालनको लागि दिएको हुँ,’ उनले भने, ‘अस्पताल सञ्चालनका लागि भवन पनि बनाइदिएको छु ।’ उनले सात करोड लगानी गरेर २० कोठाको चारतल्ले भवन बनाइदिएका छन् । डाक्टरहरूका लागि चारवटा क्वार्टर बनाइदिएका छन् । ओपिडी सञ्चालनको लागि तीनवटा भवन निर्माण भइरहेका छन् ।
‘पहिले आफ्नै ट्रस्टको नाममा अस्पताल खोलेर समाजसेवा गरौं भन्ने सोचेको थिएँ,’ उनले लोकान्तरसँग भने, ‘तर प्रहरीलाई सुम्पिँदा राम्रै हुने ठानेर प्रहरीलाई दिएँ ।’
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा उनले उक्त जग्गा र भवन प्रहरीलाई हस्तान्तरण गरेका हुन् । उक्त ठाउँमा प्रहरीले ‘पूर्वाञ्चल क्षेत्रीय ठाकोदेवी–जोगेन्द्र भगत’ अस्पताल सञ्चालन गर्दैछ । ‘साउनमा नै रजिस्ट्रेसन गरेर दिएको थिएँ, अहिले हस्तान्तरण गरें,’ उनले भने, ‘हस्तान्तरणको बेलामा एक करोडको अस्पतालका लागि आवश्यक उपकरण पनि दिएको थिएँ ।’
उनले आफूले धेरै पहिलेदेखिनै सामाजिक क्षेत्रको लागि दान गरिरहेको बताउँछन् । २०२० देखि २०३२ सालसम्म नेपाल र भारतमा गल्लाको व्यापार गरेका उनी २०३९ सालमा राजबिराजकै प्रधानपञ्च भएका थिए । प्रधानपञ्च भएपछि चाहिँ राजनीति गर्ने मन लागेन । त्यसपछि उनले रेडक्रसमा आबद्ध भएर समाजसेवा गर्न लागेको बताउँछन् ।
‘सामाजिक क्षेत्रमै बढी रुचि भएको कारणले यो सब गरिरहेको छु,’ उनले भने, ‘यसभन्दा अघि पनि करोडौंको सम्पत्ति बाँडेको छु ।’ ‘ठाकोदेवी जोगेन्द्र भगत सेवा ट्रस्ट’ खोलेर उनले यसरी जग्गा बाँडिरहेका छन् । ठाकोदेवी उनकी श्रीमती हुन् । आफूले कमाएको सबै सम्पत्ति ट्रस्टको नाममा राखेका छन् ।
‘ट्रस्टको नाममा अझै २० बिगाहा जमीन होला, मेरो व्यक्तिगत नाममा पनि २/४ बिगाहा छ,’ उनले भने, ‘मर्नुभन्दा अघि यो सबै बाँडेर सक्ने हो ।’ उनले आफ्नो जीवन नै समाजसेवामा समर्पित गर्ने उद्देश्यका साथ यसभन्दा अघि पनि दान गरिरहेका छन् ।
शम्भुनाथ नगरपालिकामा नै सशस्त्र प्रहरीको स्कूल बनाउनको लागि साढे आठ बिगााह जमीन दिएका छन् । अझै साढे एक बिगाहा जमीन केही समयमा दिने तयारी गरेका छन् । ‘यो जमीनलाई यहाँको बजारमूल्य अनुसार तीस करोड रुपैयाँ पर्छ,’ उनले भने, ‘यहाँ आँपको बगैंचा, कदमको रुख लगायतको प्लान्टेसन गरेको थिएँ ।’
त्यस्तै २०४४ सालमा पचास लाख लगानी गरेर उनले राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय पनि राजबिराजमै स्थापना गरेका थिए । ‘अहिले त त्यहाँको जग्गा जमीनलाई पनि करोडौं पर्छ,’ उनले भने ।
राजबिराजमै पचास लाख पर्ने १४ धुर जग्गा लायन्स क्लब अफ राजबिराजलाई दिएको पनि उनले बताए । उक्त ठाउँमा दन्त चिकित्सालय खोल्ने तयारी भएको उनले बताए । ‘जिल्लाका थुप्रै मन्दिरहरूमा मूर्तिहरू पनि स्थापना गरेको छु,’ उनले भने ।
सप्तरीको जण्डोल गाविसमा रहेको तीन करोड मूल्य बराबरको जग्गा पनि प्रहरी वा सेनालाई दिने तयारी गरेको उनले बताए । पेट्रोल पम्प स्थापनाको लागि उक्त ठाउँको जग्गा हस्तान्तरण गर्न लागेको उनले बताए । तर पम्पबाट आउने केही लाभांश आफ्नो ट्रस्टमा आउने र उक्त रकम पनि समाजसेवामा नै खर्चिने उनले बताए ।
उनी अहिलेसम्म आफूले लगभग ६५ करोडको सम्पत्ति बाँडेको बताउँछन् । आफूसँग बाँकी रहेको अरू १५/२० करोडको सम्पत्ति पनि चाँडै नै बाँड्ने उनको तयारी छ । उनका आफन्त समेत रहेका सन्तोष भगतले जोगेन्द्र राजबिराजकै नामुद समाजसेवी भएको बताए ।
उनले यो सबै सम्पत्ति आफूहरूको पुर्ख्यौली नभएको बताउँछन् । पुर्ख्यौली सम्पत्तिबाट ४/५ बिगाहा जमिन मात्रै लिएको उनी बताउँछन् । ‘पुर्ख्यौली सम्पत्ति दाजुभाइलाई धेरै छोडेर मैले थोरै लिएको थिएँ,’ भन्छन्, ‘पछि व्यापारबाट पैसा कमाए, लगानी जति सबै हाइवे नजिकको जग्गामा गरें ।’ त्यसबेला सस्तो मूल्यमा जग्गा पाइने उनी बताउँछन् ।
भारतको केरला र बंगलादेशसम्म पनि पुगेर गल्लाको व्यापार गरेको उनी बताउँछन् । मुख्यतः उनी धान चामलको व्यापार गर्थे । अब चाहिँ जेष्ठ नागरिकको आश्रयस्थल निर्माणका लागि अलिकति जग्गा बाँड्ने तयारी रहेको उनले बताएका छन् ।
उनका आफ्ना छोराछोरी छैनन् । पाँच दाजुभाइमा साइँलो भाइ हुन् । ‘अलिअलि त दाजुभाइले पनि आश गरेका थिए,’ उनले भने, ‘तर मैले चाहिँ सामाजिक सेवामै सम्पत्ति हस्तान्तरण गर्ने निर्णय गरें ।’
Advertisment
Advertisment