कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
कास्की | फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेपालमै बस्ने योजना बनेपनि के गर्ने टुंगो भने लामो समयसम्म गरेनन् । जागिरे हुने सोच थिएन । केही न केही उपाय लगाउने योजना भने थियो । ‘के न केही’ गर्ने हुटहुटीलाई ठेगाना दिनु थियो । जसको बाटो भेटेकै थिएनन् अशोकले । १२ कक्षापछि थप अध्ययनका लागि काठमाडौं पुगे । नयाँ माहोलले आफैँलाई बुझ्ने मौका पाए । केही गर्ने हुटहुटी बोकेका उनले आफू उद्यमशीलताका लागि नै जन्मिएको ठहर गरे ।
‘काठमाडौं गइसकेपछि मैले पढ्ने वातावरण भेट्टाए । इभेन्टहरूमा अरुका कुरा सुनिरहँदा केही न केही त गर्नैपर्ने रहेछ हुटहुटी ममा थियो,’ अशोकले पुराना दिन सम्झिए ।
भर्खर १९ वर्ष टेकेका युवा अशोकलाई व्यवसाय शुरू गर्ने रहर जाग्यो । तर व्यवसायको बाटो देखाउने कोही थिएन । परिवारसँग लगानीका लागि रकम मागे । अनि शुरू गरे ‘क्विज जक्सन’ साइट । सन् २०१३ (विसं २०६७–७०) देखि शुरू भएको हो अशोकको व्यावसायिक यात्रा । जसमा ठक्कर अनेक आए । तर अन्नतः असफलता छिचोल्दै सफलतातिर लम्किए ।
सन् २०१३ मा ‘क्विज जक्सन’ वेबसाइट शुरू गर्दाको लगानी ४५ रुपैयाँ हजार लाग्यो । सामान्य ज्ञानको प्रश्न सोध्ने, विजेतालाई पुरस्कार दिने, काम यस्तै थियो । ‘४५ हजारमा बनाएको साइट के नै राम्रो हुन्थ्यो । साइटमा समस्या आउन थाल्यो । त्यसमा पनि एक्लैले काम गर्नुपर्ने । पढाइ र कामलाई एकैसाथ एक्लै लैजान गाह्रो भयो । ९ महिनामा बन्द भयो,’ अशोकले सम्झिए ।
एउटा असफलता भोग्दैमा अशोकले हरेश खाएनन् । व्यवसाय सञ्चालन गर्ने हुटहुटी उस्तै रह्यो । त्यसपछि डोको बिट्स शुरू गरे । एमोजन, नेटफिल्कस प्लेटफर्मजस्तै । क्विज जक्सन शुरू गर्दा उनले बुझिसकेका थिए– एक्लै व्यवसाय गर्न गाह्रो छ । यसर्थ उनी व्यवसाय गर्ने सहयात्री खोज्दै थिए । पोखराबाट काठमाडौं पढ्न पुगेका एकजना साथीलाई भेटे । अनि व्यवसायको हात बढाएर शुरू गरे चार लाख रुपैयाँको लगानीमा डोको बिट्स । त्यो त्यो बेला अशोकलाई व्यवसाय सञ्चालन गर्नका लागि दर्ता गर्नुपर्छ भन्नेसम्म थाहा थिएन । दोस्रो प्रयासमा डोको बिट्सलाई दर्ता गरेर चलाए । ओटीटी कन्सेप्टको प्लेटफर्म थियो डोको बिट्स । योजना राम्रो । तर, त्यो दोस्रो स्टार्टअप पनि असफल बन्यो
‘डोको बिट्स समयभन्दा अगाडि आयो । सन् २०१५ मा हामीसँग इन्टरनेटको धेरै एक्सेस थिएन । युट्युबमा रोकी–रोकी मुभी हेर्ने बेलामा तीन–चार घण्टाको मुभी हेर्न हामीलाई राम्रो इन्टरनेट चाहिन्थ्यो,’ व्यवसाय असफलताको एउटा कारण सुनाउँदै अशोक थप्छन्, ‘मार्केटमा लन्च गरेर काम सुधार्दै लैजानुपर्ने थियो । तर हामीले भित्रभित्रै काम गर्यो । यो गल्ती थियो ।’
यसका बीच एप्स बनाउने लगायतका प्राविधिक काम भइरहेको थियो । संस्थाहरूसँग छलफल र बैठक भइरहेकै थियो । अशोकले सबैबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेका थिए । नेपाल टेलिकमले समन्वय गर्न खोजेको थियो । त्यही बीच भूकम्पको सामना गर्नुपर्यो । भूकम्पले उनको सपना भत्काइदियो । नेपाल टेलिकम लगायतका अन्य लगानीकर्ता सबै पछाडि हटे । व्यावसायिक साथीले व्यक्तिगत कारण देखाउँदै हात निकाले । उनी फेरि एक्लै बने । यसबारे उनी भन्छन्, ‘इनर्जीमा ब्रेक लागेजस्तो भयो ।’
यो व्यवसायबाट अशोकको अपेक्षा धेरै थियो । समयअनुसार त्यतिबेला सबैको ‘नो’ प्रतिक्रिया ठीकै लाग्यो त्यतिबेला उनलाई । आफूले डेढ वर्ष समय खर्चिएपछि सबै पछाडि हट्दा उनलाई नराम्रो लाग्नु स्वभाविकै थियो । यसबाट दुःखी भए पनि अन्ततः अनुभव भने संगालेको भन्दै चित्त बुझाए । तितामिठा याद बोकेर हौसलाका साथ हिँडिरहे । कतै अविश्वासको नजरले हेरिए । कतै विश्वास गरेर परिवारले धपधपाइरहे। आफूहरू कम उमेरका भएकाले पनि धेरैले नपत्याएको अशोकको अनुभव छ ।
‘पहिलो पटक बोर्डसँग मिटिङ गर्न जाँदा हामी २१–२२ वर्षका मात्र थियौँ । प्रोजेक्टर मिलाउँदै थियौँ, एक जनाले आएर सरहरू आउँदै हुनुहुन्छ ? भनेर सोधे । उनलाई हामी ने सर (कम्पनीका संस्थापक)हरू हौँ भन्ने लागेन । हामी दुईजना नै संस्थापक हौँ भन्दा पनि उनले नजरले हेरेका थिए । त्यो प्रश्न र अनुहार अझै याद छ,’ उनले भने, ‘सानो उमेरले पनि व्यवसायको स्थापनामा असर चाहिँ पर्ने रहेछ ।’
डोको बिट्स बन्द भएपनि अशोकको अर्को व्यवसाय थियो । डोको बिट्स चलाइरहँदा कमलपोखरीमा गल्र्स होस्टेल सञ्चालनमा ल्याएका थिए उनले । लगानी लगाएको पहिलो महिनाबाट नै आम्दानी हुन थालेको थियो । यसले गर्दा कलेज पढ्दै गरेको ठिटोसँग विद्यार्थीहरूको सम्पर्क बढ्यो । त्यो नौ महिना राम्रै चलेको थियो । तर यसमा पनि भूकम्पको मार पर्यो । भाडा बढ्यो । अग्लो भवनमा विद्यार्थी बस्न डराए । यसपछि अशोकले व्यवसाय नै छोडिदिए ।
होस्टेल छोडेपछि अशोकले केही समय स्पोर्ट्स म्यागेजिन पनि निकाले । त्यो पनि बन्द भयो । यो बेलासम्म उनका तीन प्रयास असफल भइसकेका थिए । तर, केही न केही सिकिरहेका पनि थिए उनी । ‘सबैभन्दा बढी त उनले डोको बिट्सबाट सिके ।
‘सबैभन्दा मैले धेरै सिकेको डोको बिट्सबाट हो । लर्निङ एकदमै धेरै थियो । बोर्ड मिटिङ गर्नका लागि नेपाल टेलिकमको बोर्ड हेडसँग गएर बस्थ्यौँ,’ अशोकले पुरानो याद ताजा गरे, ‘यो पनि हामीजस्ता कम उमेरका युवाका लागि फाइदाकै विषय भयो । कम्युनिकेसन स्किल र नेटवर्किङ ग्रो भयो ।’
अशोकले कर्म गर्ने कुरामा निरन्तरता दिइरहे । अर्कोतिर प्रयासहरू पनि असफल बनिरहे । तर सबै स्टार्टअपले उनलाई केही न केही भने सिकायो । असफल भएपनि उनले हार मानेनन् । केही गर्नैपर्छ भन्ने सोचले उनको मनमा घर बनाइसकेको थियो । केक सपको आइडिया फुराए । तर, फरक तरिकाले गर्ने गरी । मुख्यतः केक डेलिभरी गर्ने मिडिएटरका रुपमा । उनले कुनै केक सपबाट ल्याएको केक डेलिभरी दिने सुविधा सिर्जना गरे । शुरूवाती दिनमा केक डेलिभरी गर्न उनी आफैँपनि पुगेका छन् । काठमाडौंमा काम गरिरहँदा स्नातक तह सकियो । पोखरा फर्किए । पोखरा फर्किएर पनि उनले केही महिना केक डेलिभरी गरे । उनकै भाषामा भन्दा उनले मार्केट बुझे तर किचनबारे आइडिया भएन । केक कहिले मिठो हुने त कहिले नमिठो । यसले गर्दा त्यहाँ बाट पाउने केक मिठो हुँदैन भनेर नेगेटिभ इमेज नै बसिसकेको थियो । यसअघिका चारवटा स्टार्टअप असफल भइसकेको थियो । पाँचौँ प्रयासमा ‘नमिठो’को छाप पर्यो ।
‘पिउरो’को शुरूवात
पाँच पटक हन्डर खाए पनि अशोकलाई व्यवसाय शुरू गर्ने इच्छाले छोडेको थिएन । हरेक व्यवसाय असफलपछि पनि उनी नयाँ प्रयास जारी गरिरहन्थे । केक डेलिभरी लिनका लागि न्युरोडको एउटा केक सप थियो । झरी परेको एकदिन उनी कारमा केक सप पुगे । त्यहाँ पुगेपछि आफू गलत प्रयासमा रहेछु भन्ने लाग्यो ।
‘म कार लिएर केक सप पुगेँ । यो देखेर पसलेले सोधे– कार लिएर डेलिभरी गर्दा तपाईँलाई फाइदा हुन्छ ? १०० रुपैयाँ मार्जिन हुन्छ, त्यो त तेलमै जान्छ । के गरिराख्नु भएको छ ? उनले यसो भनेपछि म त गलत ट्र्याकमा पो गएको छु, भन्ने लाग्यो,’ उनले सुनाए ।
व्यवसाय गर्ने इच्छाले भौतारिरहेका अशोकलाई कसैले सुझाव दिएपछि शुरू भएको हो ‘पिउरो’ । उनको परिवारले पोखरामा ज्ञान बोरिङ सञ्चालन गर्दै आएका थिए । कसैले उनलाई प्रशोधित पानी बजारमा लैजान सुझाए । त्यसपछि विसं २०७६ सालमा जन्मिएको हो पिउरो । यसको जन्म पोखरामा नै भएको हो ।
काठमाडौंमा यसअघि पाँचवटा स्टाटअप गरेका अशोकलाई ‘पिउरो’बाट पनि एक स्तरको सिकाइ भयो । अब भने व्यवसायका लागि के आवश्यक छ भन्ने उनले बुझिसकेका थिए । उनले असफल व्यवसायबाट सिकेको एउटै पाठ थियो– अँध्यारोमा ढुंगा हान्ने जसरी काम गर्नु हुन्न । उनले पोखराको बजारबारे एक वर्ष रिसर्च गरे । तब मात्र नयाँ व्यवसाय गरेका हुन्– पानीलाई प्रशोधन गरेर पिउरो । जो सफल छ अहिले । जसमा उनले परिवारको साथ पनि जहिल्यै पाए । त्यसमा उनले जोश भरे ।
‘त्यो छुट्टै जोश थियो । पहिलेका का मभने जोशमा होश गुमाएर गरेको थिएँ भन्ने अहिले लाग्छ । होश भइदिएको भए धेरै काम त गर्दापनि गर्थिनँ थिए होला । यसर्थ लाग्छ– ती जोशैजोशमा गरेका कामहरू थिए,’ धेरै असफलतापछि सफलता पाएकोबारे मजाक शैलीमा उनले सुनाए, ‘साथीहरू जिस्काउँथे– पहिलाको त सकियो होला क्यारे ! आजभोलि के छ ?’
त्यो मजाकको अहिले एउटै उत्तर ‘पिउरो’ भएको छ । पोखरेली पानीको ब्रान्ड पिउरो अहिले राजधानी काठमाडौंसम्म पुगेको छ । ‘कति मायाले त कतिले मन दुःखाउने तरिकाले जिस्काए । मन दुःखाउने साथीभाइका लागि पिउरो नै उत्तर हो । तर माया गरेर जिस्काउने साथीहरूको सपोर्ट अझै पनि मलाई छ,’ अलि गम्भीर हुँदै उनी थप्छन् ।
हुन पनि अशोकको व्यावसायिक जीवन त्यस्तै गम्भीर नै भयो । १९ वर्षको कलिलो उमेरमै व्यवसायमा हात हाले । बारम्बार असफल बने । परिवारले साथ नछोड्दा अहिले सफल छन् ।
‘कहिले के गरेँ, कहिले के, व्यवसाय शुरू गर्थे चलाउन नसेकेर बन्द गर्नुपथ्र्यो । अहिले लाग्छ– त्यो व्यापार गर्नलाई मैले त्यो बेला तरिका जानिनँ भन्ने लाग्छ । जति असफल भएपनि परिवारको साथ निरन्तर रह्यो । यसबाट खुसी छु,’ पुराना कुरा उनी स्मरण गर्छन् ।
अशोकले २६ वर्षको हुँदा शुरू गरेका हुन् पिउरोको व्यापार । व्यवसाय शुरू गरेको तीन महिनामा नै कोरोनाका कारण बन्दाबन्दी (लकडाउन) भयो । अघिल्ला अनुभवबाट हरेक परिस्थिति सामना गर्न तयार थिए अशोक । कोरोना कसैले नसोचेको विषय थियो । उनी कसरी तयार हुने ! यसमा उनको सुझबुझ काम लाग्यो । पिउरोलाई बजारमा लैजान सामाजिक सञ्जाल प्रयोग गरे । सामाजिक सञ्जालमा विज्ञापन गरे । एक वर्षमा प्राप्त गर्ने लक्ष्य आठ महिनामा पूरा भयो । जसको आशा उनी आफँैले गरेका थिएनन् ।
‘यति छिटो यति माथि आउँछु मैले कहिल्यै सोचेको थिएन । मलाई पहिला स्टार्टअप गर्दा अपेक्षा धेरै हुन्थ्यो । पिउरो शुरू गर्दा भने मैले कम अपेक्षा राखेको थिएँ । एक वर्षमा राखेको अपेक्षा ६–७ महिनामै पूरा भयो,’ उनले भने ।
अहिले पिउरोको ३४ प्रतिशत बजार लिएको दाबी अशोकको छ । यद्यपि, पिउरोको बजार कास्की र काठमाडौंमा सीमित छ । कहिलेकाहीँ तराईसम्म पनि पुग्छ । कतै टाढा पिउरोको बोत्तल देख्दा अशोकको फोनमा पिउरो बोतलको फोटो पठाइएको घण्टी बज्छ । पिउरो नाम आफैँमा अनौठो छ । उनलाई पिउरोको शुरूवात गर्नुअघि नै लागेको थियो– ब्रान्ड नाम अनुपम हुनुपर्छ ।
नजिकका उनका एक मित्रले सुझाए– पाण्डेलाई पाण्डु भनेजस्तै पिओरलाई पिउरो ।
अशोकलाई पनि यो नाम गज्जब लाग्यो । प्रशोधित पानीको ब्रान्ड नाम पिउरो दिएर बजारमा लैजाने योजना अघि सर्यो । पिउरोलाई अझै ब्रान्ड बनाउने योजनामा छन् उनी । व्यवसाय शुरू गर्दा कलिलै रहेका अशोक अहिले ३० वर्षको हाराहारीका परिपक्क युवा भएका छन् । अब उनी योजना बुन्ने तहमा पुगेका छन् । पिउरोको कारखाना काठमाडौंमा खोल्ने योजनामा छन् उनी । सरकारले साथ दिएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा नेपाली बजारको पानीको स्वादले स्थान पाउने आशा उनको छ । त्यो त उनले अहिले पोखरामा ‘पिउरो’सँग जोडेर परिचय नै बनाएका छन् । बारबारको प्रयासपछि पाएको सफलतालाई प्रिभिलेज मान्छन् उनी ।
‘पिउराले दिएको सफलतालाई म प्रिभिलेज मान्छु । हिजो सफल हुन वा धनी बन्न जग्गा–जमिन चाहिन्थ्यो भने अहिले इनोभेटिभ आइडिया आवश्यक छ । तर यस्तो सफलताका लागि परिवारको नैतिक समर्थन भने चाहिने रहेछ,’ उनी कुरा सिध्याउँछन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...