२२ असार २०८३, सोमबार
राज्यकोष दोहन

मोरङमा कांग्रेस नेताका नाममा भवन बनाउन करोडौं खर्च, एकै वडामा ४ वटासम्म निर्माण

चैत ८, २०८१
विराटनगर
मोरङमा कांग्रेस नेताका नाममा भवन बनाउन करोडौं खर्च, एकै वडामा ४ वटासम्म निर्माण

मोरङको विराटनगरमा कांग्रेसका पुराना नेताहरूको नाममा भवन निर्माण गर्न करोडौं खर्च भएको पाइएको छ ।

पहुँचका भरमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यसका लागि बजेट विनियोजन गरेका छन् । लोकान्तरलाई प्राप्त तथ्यांकअनुसार यी परियोजनामा मात्र ८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ ।

विराटनगर महानगरपालिकाले दिएको तथ्यांकअनुसार विराटनगर– ४ मा निर्माणाधीन अवस्थामा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनको भवनमा हालसम्म ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ खर्च भइसकेको छ।

आर्थिक वर्ष २०७८/७९ मा विराटनगर महानगरपालिकाबाट ५ लाख, कोशी प्रदेश सरकारबाट ५० लाख, संघीय सरकारबाट १५ लाख र सुन्दरहरैचा नगरपालिकाबाट १४ लाख ४० हजार रुपैयाँ विनियोजन भएको थियो। त्यससमध्ये ८४ लाख ८८ हजार २७७ रुपैयाँ खर्च भएको थियो।

उक्त भवन नेपाली कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष रमेशजंग रायमाझी नेतृत्वको टीमले निर्माण गरिरहेको छ । उनी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् । सुन्दरहरैचाका पूर्वमेयर शिवप्रसाद ढकालले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर १४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिदिएका थिए। ढकाल पनि कांग्रेसकै नेता हुन्।

आर्थिक वर्ष २०७९/८० मा विराटनगर महानगरपालिकाले २७ लाख ८५ हजार ६३२ रुपैयाँ विनियोजन गरेको थियो भने प्रदेश सरकारले ५७ लाख १७ हजार ६६२ रुपैयाँ खर्च गरेको थियो।

तीनै तहको खर्च महानगरपालिकाबाट हुने गरेको छ भने ठेक्का महानगरपालिकाले लगाउने गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारबाट तीन चरणमा बजेट प्राप्त भएको देखिन्छ:

पहिलो चरण: २८ लाख ५२ हजार ६२९ रुपैयाँ

दोस्रो चरण: ८१ लाख २ हजार ६६३ रुपैयाँ

तेस्रो चरण: ६९ लाख ९९ हजार ६८६ रुपैयाँ

यस्ता भवन निर्माणमा महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी रहेको छ। यी संरचनाहरू ‘स्मृति भवन, प्रतिष्ठान र फाउन्डेसन’ जस्ता विभिन्न नामले सञ्चालन भइरहेका छन्।

null

अन्य नेताका नाममा पनि यस्तै खर्च

वडा नं ८ मा रहेको सुशील कोइराला फाउन्डेसनको भवन बनाउन पनि राज्य कोष ठूलो मात्रामा प्रयोग भएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्म यस फाउन्डेसनमा प्रदेश, महानगरपालिका र संघीय सरकारबाट २ करोड ५८ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ।

विराटनगर वडा नं. ४ मा नोना कोइराला ट्रस्ट र नोना कोइराला स्मृति प्रतिष्ठान रहेका छन्। वडा नं ६ मा नोना कोइराला स्मृति प्रतिष्ठान भवन निर्माणका लागि राज्य कोषबाट ९७ लाख ६८ हजार ४१२ रुपैयाँ खर्च भएको छ।

गिरिजाप्रसाद कोइरालाको नाममा एउटै वडामा चारवटा भवन निर्माण भएका छन्।

वडा नं. १ मा जीपी कोइराला स्मृति भवन, जीपी कोइराला कोइराला स्मृति महिला भवन, उक्त भवनको तला थप र जीपी कोइराला फाउन्डेसन भवन गरी चारवटा परियोजनामा आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्म महानगरपालिकाबाट मात्र ७६ लाख ९० हजार रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ।

त्यस्तै, वडा नं. १ मै गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवन निर्माणमा विभिन्न आर्थिक वर्षहरूमा ५० लाख ६७ हजार रुपैयाँभन्दा बढी लगानी भएको छ। यसमा महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी छ।

null

खर्चको औचित्यमा प्रश्न

यस्ता भवनहरूको औचित्य र उपयोगिता अध्ययन गर्नुपर्ने बेला आएको स्थानीय बासिन्दा बताउँछन्।

राजनीतिक आधारमा निर्माण गरिएका यस्ता भवनहरूले आमजनताको हितभन्दा केही व्यक्ति वा समूहको राजनीतिक लाभलाई प्राथमिकता दिएको स्थानीय लक्ष्मणजंग थापाले बताए।

नेपाल सरकारका पूर्व उपसचिव गणेशप्रसाद दाहालले यस्ता भवनहरू अनुत्पादक भएको टिप्पणी गर्दै राज्यले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

राजनीतिक नेताहरूका नाममा बन्ने यस्ता संरचनामा सार्वजनिक कोषको प्रयोग गर्नुअघि त्यसको प्रभावकारिता र समुदायलाई पुग्ने लाभको विस्तृत अध्ययन आवश्यक भएको स्थानीय बताउँछन् ।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र नेताका नाममा बनाइएका भवन उस्तै हुन्,’ एक बहालवाला कर्मचारीले भने, ‘दुवै कार्यक्रम नेतालाई खुशी बनाउने उद्देश्यले ल्याएको देखिन्छ । यसले कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताको नै बेइज्जत गरेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्