
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिसकुमार चम्बुकारा गान्धी रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।
सोमबार दिउँसो थाइल्यान्डको बैंककबाट भैरहवा आएको एयर एसियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २०० ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको हो ।
प्रहरीका अनुसार बरामद गाँजा १२ थान प्याकेटमा प्याक गरेर ल्याइएको थियो ।
गाँजासहित पक्राउ परेको भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीले चैत ४ गते पनि एयर एसियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो ।