
कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन २०८२ गर्ने भएको छ । यसअघि गत माघमा हुने तय भएको सम्मेलन अब वैशाखमा हुने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले पूर्वाधार, कृषिजन्य उद्योग, ऊर्जा, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सम्भावित लगानीका अवसरहरूलाई प्राथमिकता दिँदै सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनमा विभिन्न देशका लगानीकर्ता, विकास साझेदार, अन्तर्राष्ट्रिय संघ-संस्था, नेपाली प्रवासी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने लगानी सम्मेलनका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाले बताए ।
उद्योग, व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी नीतिगत सुधार र अवसरहरूबारे जानकारी दिने उद्देश्यले प्रदेश सरकारले सम्मेलन आयोजना गरिएको जनाएको छ ।
यसअगाडि माघमा गर्ने भनिए पनि विवाद भएपछि प्रदेश सरकारले रोकेको थियो । प्रदेश लगानी सम्मेलन प्रदेश सरकारको गौरवको आयोजना हो । प्रदेश सरकारका तीन वटा गौरवका कार्यक्रम थिए । चिया सम्मेलन रोकिएको छ भने पर्यटन वर्ष २०८२ भने विवादबीच सञ्चालनमा छ ।