
बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पसका नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरू मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौं स्कूल अफ लका नेता हिमाल विष्ट रहेका छन् ।
प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको लगायतका नारा लगाउँदै विद्यार्थी नेताहरूले नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरूले त्रिविको भीसी नियुक्तिमा खुला प्रतिस्पर्धा खै ?, शिक्ष ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ? र प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्यै लगायतका पम्प्लेट बोकेर नाराबाजी गरेका थिए ।