
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ६ जना प्रहरी अधिकारीहरूले दर्ज्यानी चिह्न पाएका छन् ।
बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा आयोजित औपचारिक समारोहमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
दर्ज्यानी चिह्न लगाउने एआईजीहरूमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन् ।
यही वैशाख १५ गतेको मन्त्रिपरिषद्ले उनीहरूलाई एआई नियुक्त गरेको थियो उनीहरूलाई पदस्थापन समेत गरिएको छ ।
पदस्थापन अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी एआईजी खापुङले पाएका छन् । सीआईबी प्रमुख दीपक थापा आईजीपी बनेपछि यहाँ पद रिक्त थियो ।
यसैगरी, कार्यविभागमा लालमणी आचार्य, प्रशासन विभागमा कृष्णहरी शर्मा पोखरेल, मानवस्रोत विकास विभागमा दानबहादुर कार्की, अपराध अनुसन्धान विभागमा राजन अधिकारी र प्रदेश समन्वय विभागमा डा. मनोज कुमार केसीको पदस्थान गरिएको छ ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवं कार्यकुशलताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।
पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट एआईजी खापुङले सांगठनिक लक्ष्य र उद्देश्य प्राप्ति तथा संगठनको छवि उच्च बनाउन तोकिएको जिम्मेवारी पूर्ण व्यवसायिक निष्ठा र इमानदारिता एवं लगनशीलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।