
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको मुद्दामा दुई हिसाबले प्रतिवाद गर्ने भएको छ ।
पार्टीले औपचारिक प्रतिक्रिया नदिए पनि नेता डा. बेदुराम भुसालले यो मुद्दाको दुई तरिकाले प्रतिवाद गर्ने बताएका हुन् ।
‘यो विषयमा पार्टीले औपचारिक बैठक राखेर निर्णय गरिसकेको छैन । तर, यो मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ,’ भुसालले भने, ‘दोस्रो, यसको कानूनी पक्ष छ । यतिखेर राजनीतिक प्रतिशोध साँधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्नेछौं । कानूनी पक्षको कुरामा हामी कानूनी हिसाबमा नै प्रतिवाद गर्छौं ।’
रौतहटबाट अध्यक्ष नेपाल फर्किएपछि बैठक राखेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी नेकपा एसको छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले कम्पनी सञ्चालनका लागि लिएको हदबन्दीभन्दा बढी जग्गा राख्न तथा सट्टापट्टा र बिक्री गर्न दिनेमा २०६६ मा प्रधानमन्त्री हुँदा नेपालले मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए ।
हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, कम मूल्यमा किनेर बढी मूल्यमा बेचेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।