
काठमाडौंको शंकरापुर नगरपालिका-५ पालुबारीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-३ धुसकोट घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २२ वर्षीय सञ्जय तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०५१ प २१ १९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २८ ९६ राखि तामाङले चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल दाङ घर भएका मिलन नेपालीले काठमाडौंको बालाजुबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।