
इजरायलले इरानमाथि परमाणु हतियार प्रयोग गरेमा पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने चेतावनी दिएको इरानी अधिकारीले दाबी गरेका छन् ।
इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) का वरिष्ठ अधिकारी तथा इरानको राष्ट्रिय सुरक्षा परिषद्का सदस्य जनरल मोहसिन रेजाइले अन्तरवार्तामा भनेका छन्, 'पाकिस्तानले हामीलाई आश्वासन दिएको छ– यदि इजरायलले इरानमाथि परमाणु आक्रमण गर्यो भने उसले इजरायलमाथि पनि परमाणु आक्रमण गर्नेछ ।'
रेजाइका अनुसार पाकिस्तानले इरानको पक्षमा उभिने वाचा गरेको छ र इस्लामी मुलुकहरूलाई इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेको छ । पाकिस्तान आणविक शक्ति सम्पन्न एक मात्र मुस्लिम राष्ट्र हो ।
तर, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त दाबी अस्वीकार गरेका छन् । उनले भनेका छन्, 'पाकिस्तान अन्तर्राष्ट्रिय परमाणु सन्धि र अनुशासनको पालना गर्ने देश हो । हाम्रो परमाणु क्षमता जनताको हित र राष्ट्रको सुरक्षाका लागि मात्र हो, यो कुनै आक्रमणका लागि होइन ।'
उनले भनेका छन्, 'मध्यपूर्वमा हाल बढिरहेको तनावले विश्व नै युद्धको मुखमा पुग्ने खतरा देखिएको छ । पश्चिमी मुलुकहरूले इजरायलको संरक्षण गरेर यो क्षेत्र मात्र होइन, समग्र विश्वमा खतरा निम्त्याइरहेका छन् ।'
चुलिँदै क्षेत्रीय तनाव
गत साता इजरायलले इरानमाथि सैन्य आक्रमण शुरू गरेपछि स्थिति अत्यन्त तनावपूर्ण बनेको छ । इजरायलले इरानका सैन्य र आणविक संरचनामाथि आक्रमण गरी उच्चपदस्थ कमाण्डर र वैज्ञानिकहरूको हत्या गरेको दाबी गरेको छ ।
यसैबीच अमेरिकी अधिकारीहरूले भनेका छन्– राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको हत्या योजना रोक्न सुझाव दिएका थिए । ट्रम्पले दुबै पक्षलाई सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
आक्रमण र प्रत्याक्रमण
आइतबार बिहान इरानले पुनः इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इजरायलभरि हवाई आक्रमणको साइरन बजाइएको थियो । आक्रमणमा परी इजरायलमा ५ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।
इरानको आक्रमण इजरायलद्वारा इरानमा गरिएको व्यापक सैन्य कारबाहीको जवाफमा भएको हो । पछिल्लो चार दिनमा इरानमा कम्तीमा २२४ जनाको ज्यान गएको इरानी अधिकारीहरूले जनाएका छन् ।
इजरायली सेनाका अनुसार कुद्स फोर्सका कमान्ड सेन्टर रहेका तेहरानका १० स्थानमा इजरायली लडाकु विमानले आक्रमण गरेका छन् । कुद्स फोर्स इरानको क्रान्तिकारी गार्डको विदेशकेन्द्रित सैन्य र गुप्तचर शाखा हो ।
आक्रमणका क्रममा इजरायलको तेल अविभमा इरानी मिसाइलहरू रोक्न खोज्दा शक्तिशाली विस्फोट भएका छन् । विस्फोटको धुवाँले आकाश ढाकिएको छ ।
इजरायलको पेटाह टिक्वा शहरमा एक आवासीय भवनमा मिसाइल प्रहार हुँदा भवनका पर्खाल जलेका छन्, झ्याल फुटेका छन् र धेरै अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् ।
इजरायली आपतकालीन सेवा ‘मगेन डेभिड अडोम’ ले दिएको जानकारी अनुसार उक्त आक्रमणमा ७० वर्षभन्दा माथिका २ महिला, २ पुरुष र १ अन्य व्यक्तिको ज्यान गएको हो ।
– डेलीमेलबाट