
सत्ता साझेदार दुई दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री गगन थापालाई लिएर बालुवाटार पुगेका छन् ।
सरकारका काम कारबाही प्रभावकारी बनाउने विषयलाई लिएर कांग्रेस र एमालेका नेताहरूबीच भएको छलफलमा देउवा थापालाई लिएर बालुवाटार पुगेका हुन् । थापा पछिल्लो समय सरकारको कामप्रति असन्तुष्ट रहेको बताइन्छ ।
उनै थापालाई सहभागी गराएर भएको बैठकमा संसदमा रास्वपाको अवरोध, निजामती सेवा विधेयकमा राख्ने भनिएको कुलिङ पिरियडका साथै गठबन्धनलाई प्रभावकारी ढंगले अघि बढाएर जानेबारे छलफल भएको थियो ।
सो बैठकमा कांग्रेसबाट देउवा र थापासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र ऊर्जामन्त्री दीपक खड्काको सहभागिता थियो ।
यस्तै एमालेबाट प्रधानमन्त्री केपी ओलीका साथै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।