
सुनसरीका शिव अनुज कौडाल एक महिनाअघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुगे ।
राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुगेका उनी काम गर्नुको सट्टा बन्धक भए । शुरूआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट ४० हजार मागियो । प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतै जान दिइएन ।
‘आफन्त साथीभाइले नै राम्रो काम पाइन्छ भनेर भनेपछि त्यहाँ पुगेको थिएँ । यहाँ पुगेपछि काम गर्नुको साटो अन्य व्यक्तिलाई फसाउन प्रयोग गरियो’, भारतबाट उद्धार गरिएपछि महेन्द्रनगर आइपुगेका कौडालले भने, ‘हामीलाई बन्धक बनाइयो ,उनीहरुको भनेको नमाने कुटाइ खानु पर्थ्यो । हाम्रो मोबाइल फोन प्रयोग गरेर उनीहरूले अन्य नेपालीलाई पनि फसाउने काम गर्थे ।’
आफूजस्तै रोजगारीका लागि भारत पुगेका अन्य नेपाली अझै बन्धक रहेका उनले बताए । आफ्नै काकाले राम्रो रोजगारीको आश देखाएपछि भारतको काशीपुर पुगेका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो ।
‘काकाको सहयोगमा भारत पुगेको थिएँ, त्यहाँ पुगेपछि मलाई काकालाई भेट्न दिइएन’, उनले भने । काम गर्नुभन्दा पहिला दश दिन प्रशिक्षण लिनुपर्ने भन्दै ५० हजार रकम असुलेको उनले बताए । ‘कहीँ कतै जान दिइएन, मेरो फोन पनि उनीहरुले नै जफत गरे’, उनले भने ।
केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरू त्यहाँ बन्धक भएको घटना बाहिर आएको थियो । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा नौ नौबालकसहित ५७ जनाको उद्धार गरिएको हो ।
यसरी आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बोलाइ बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको थियो । भारतबाट उद्धार गरिएकामा चितवनका दश जना, कैलालीका नौ, सुनसरीका पाँच तथा उदयपुर, तेह्रथुमका र पाँचथरका चार/चार, दाङ, स्याङजा र बाँकेका तीन/तीन तथा ताप्लेजुङ, डोटी र धादिङका दुई/दुई जना तथा सर्लाही, कास्की, रुकुम,बागलुङ, इलाम र रुपन्देहीका एक/एक जना रहेका छन् ।
भारतबाट उद्धार गरी बुधबार कञ्चनपुर ल्याइएका सबैलाई आ–आफ्नो घर पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै यहाँ ल्याइएको थियो ।