
झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगजनी भएको छ ।
टिनको छाना र टिनले बारिएको उक्त भुइँ तले पसलमा आज अपरान्ह ४ बजेको समयमा आगो लागेको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईंद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईंले मादक पदार्थ सेवनपश्चात् श्रीमान्सँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेकी प्रहरीले जनाएको छ ।
स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।