
काठमाडौंको कालोपुल डेरा गरी बस्ने शर्मिला (नाम परिवर्तन)को फिरोज खान भन्ने फरमान हवारीसँग टिकटकमार्फत चिनजान भयो ।
हवारीले टिकटकमा ‘क्यानडा जाने भए फोन सम्पर्क गर्नू’ भन्दै नम्बर समेत राखेका थिए ।
शर्मिलाले फरमानलाई कल गरिन् । नागार्जुन नगरपालिका– १ सीतापाइला बस्ने फरमानसँग शर्मिलाको भेट भयो । फरमानले क्यानडा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ रोजगारीको सुनिश्चितता हुने आश्वासन दिएका थिए । तर, शर्मिलाले आफूसँग त्यति पैसा नभएको बताइन् । फरमानले ‘मिलाएर गरौंला’ भन्ने जवाफ दिन्थे । फरमानले पहिला कबोल गरेकोभन्दा आधा रकमका क्यानडा पठाइदिने भन्दै शर्मिलालाई पैसाको बन्दोबस्त गर्न लगाए ।
शर्मिलाले पटक–पटक गरेर ११ लाख २८ हजार रुपैयाँ फरमानलाई दिइन् । यो बीचमा दर्जनौं पटक शर्मिला र फरमानबीच भेट पनि भयो ।
फरमानले शर्मिलालाई यतिसम्म विश्वास दिलाए कि विवाह गर्नेसम्मको आश्वासन दिए । बिहे नै गर्ने भनेपछि शर्मिला र फरमानबीच पटक–पटक शारीरिक सम्पर्क पनि भयो ।
२०८० पुस २ गते शर्मिला दुबई हुँदै क्यानडा जाने भनेर दुबईका लागि उडिन् । दुबई पुग्नेबित्तिकै एजेन्टले शर्मिलाको राहदानी कब्जामा लिए ।
उनलाई एउटा घरभित्रै कैद गरेर राखियो । बाहिर हिँडडुल गर्न र कसैसँग सम्पर्क गर्न दिइएन ।
घरेलु कामदारको रूपमा शर्मिलामाथि दुर्व्यवहार हुँदै गयो । एकदिन साहु घरमा नभएको बेला उनी जसोतसो उम्किएर आफन्तको सम्पर्कमा आइन् ।
अवुधावीस्थित नेपाली दूतावासमार्फत शर्मिला गत चैत ३० गते नेपाल फर्किइन् ।
नेपाल फर्किएपछि शर्मिलाले नेपाल प्रहरीको मानव बेखबिखन अनुसन्धान ब्यूरोमा फरमानविरुद्ध मानवबेचबिखन तथा ओसारपसारको उजुरी दिइन् । प्रहरीले गत वैशाख १२ गते फरमानलाई पक्राउ गर्यो ।
शर्मिलाले प्रहरीमा जानकारी दिएअनुसार दलालहरूले नेपालबाट थुप्रै महिलालाई क्यानडा पठाइदिने बहनामा दुबई पठाउने र त्यहाँ घरेलु कामदारको रूपमा राख्ने गरेका छन् । धेरै महिलाले शारीरिक एवं मानसिक यातना भोग्दै आएको शर्मिलाले प्रहरीलाई बताएकी छिन् ।
ब्यूरोमा पछिल्लोपटक उजुरी दर्ता भएर मुद्दा चलेका घटनामध्ये शर्मिलाले दुबईमा भागेको पीडा सुनिनसक्नुको छ ।
मानव बेचबिखनमा संलग्न दलालहरूले थुप्रै नेपाली महिलालाई कुवेत, ओमान, दुबई, म्यानमार, इराक, कम्बोडिया, भियतनाम, इथियोपिया, उज्जेकिस्तान, लाओस, नाइजेरियालगायतका मुलुकमा घरेलु कामदारका रूपमा पठाउँदै आएका छन् ।
शुरूमा उनीहरूलाई ‘हाउसकिपिङ’को काम हो भनेर पठाउने र त्यहाँ शारीरिक शोषण र मानसिक यातना दिने गरेको पाइएको छ ।
ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीका अनुसार शर्मिलाजस्ता थुप्रै नेपाली महिलाहरूले अहिले पनि वैदेशिक रोजगारीको नाममा यातना पाइरहेका छन् ।
ब्यूरोलाई प्राप्त सूचनाका आधारमा सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर महिलाहरूलाई नेपाल फर्काएका थुप्रै उदाहरण रहेको पंगेनी बताउँछन् ।
यो आर्थिक वर्षमा मात्रै शर्मिलाजस्ता ४५५ जना महिलालाई ब्यूरोले उद्धार गरेको छ, जसमा कुवेतबाट २५७ जना, भारतबाट ११ जना, ओमनबाट ४९ जना, दुवईबाट ११ जना, इराकबाट १३ जना, म्यानमारबाट १ जना, इथियोपियाबाट १ जना, जोर्डनबाट २ जना, भुटानबाट १ जना, श्रीलंकाबाट २ जना र चीनबाट १ जनाको उद्धार गरिएको जानकारी एसएसपी पंगेनीले दिए ।
ब्यूरोका अनुसार मानव बेचबिखनका गिरोहले भारतमा वेश्यावृत्ति गराउने, गैरकानूनी रूपमा शरीरका अंग (मिर्गौला) झिक्ने, भारत हुँदै गन्तव्य मुलुकमा जानेक्रममा महिलाहरूलाई यौनशोषण गर्ने गरेको पाइन्छ । चीनमा भने विवाहको आवरणमा नेपाली महिलाहरूमाथि यौनशोषण हुँदै आएको ब्यूरोको अनुसन्धानले देखाएको छ ।
ब्यूरोका अनुसार मध्यपूर्वी एसियामा भिजिट भिसाको चरम दुरुपयोग भएको देखिन्छ ।
भिजिट भिसामा ओमान, कुवेत, इराकलगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारको रूपमा लैजाने र त्यहाँ पुगेपछि श्रम शोषणसँगै यौनशोषण समेत हुँदै आएको प्रहरीले जनाएको छ ।
दक्षिण पूर्वी एसिया विशेषगरी म्यानमार, कम्बोडिया र लाओसमा महिला मात्रै नभएर पुरुषलाई समेत लगेर गलत धन्दा गर्न लगाउँदै आएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार शुरूमा चिनियाँ नागरिकहरूले नेपालीलाई आकर्षक तलब हुने रोजगारीको अफर गरी दक्षिणपूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया पठाउँदै आएका छन् । त्यहाँ नेपालीसँगै फिलिपिन्स र भियतनामका नागरिकले समेत पीडित भएर काम गरिरहेका छन् ।
गिरोहले कम्बोडिया, थाइल्यान्ड र लाओसमा नेपालीहरूलाई ‘साइबर दास’ बनाएर अमेरिकी र युरोपेली नागरिकलाई लक्षित गरी ‘क्रिप्टो फ्रड’ गर्ने काम लगाउँदै आएका छन् । अनलाइन ठगीको धन्दामा पनि नेपालीलाई मोहोरा बनाइएको छ ।
युरोप र अमेरिकामा मानव तस्करी
ब्यूरोका अनुसार युरोप र अमेरिकामा भने मानव बेचबिखन नभएर मानव तस्करी हुँदै आएका छन् ।
तस्करहरूले ५० लाखदेखि करोड रूपैयाँसम्म नेपालीहरूसँग लिँदै आएका छन् । दलाललाई पैसा बुझाएर अवैध बाटो प्रयोग गरी अमेरिका जानेमा रुकुम र यससँग जोडिएका अन्य जिल्लाका नागरिक धेरै छैन । ब्यूरोका अनुसार दलालहरूले अवैध बाटोबाट अमेरिका लैजाने क्रममा केही नेपालीहरू बाटोमै पक्राउ पर्ने, बिरामी हुने र हिमपातका कारण मृत्यु समेत हुने गरेको छ । कतिपय घटनामा सवारीसाधनमा जोखिमयुक्त तरिकाबाट यात्रा गर्दा समेत नेपालीको मृत्यु हुँदै आएको छ ।
ब्यूरोका अनुसार समुद्रमा डुंगा पल्टिएर र जंगलमा यात्रा गर्दा खान नपाएर समेत नेपालीको मृत्यु भएका घटना छन् । तर, ती घटना पीडितका आफन्तले समेत सार्वजनिक गर्न चाहँदैनन् ।
‘अवैध बाटो भएर युरोप र अमेरिका लैजाने एजेन्टहरूको अत्यन्त ठूलो र संगठित समूहको जालो छ,’ एसएसपी पंगेनीले लोकान्तरसँग भने, ‘तस्करहरूले ठूलो रकम लिएर गन्तव्य मुलुकमा नपुर्याइ धेरैलाई अलपत्र पार्दै आएका छन् ।’
ब्यूरोका अनुसार रुसी सेनामा भर्ना गराउन भिजिट भिसामा भारतबाट थाइल्यान्ड हुँदै रुस पठाउने गिरोह पनि सक्रिय छ ।