
बैकिङ कसुर मुद्दामा फरार अभियुक्त सुकराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले तामाङविरुद्ध १५ लाख रूपैयाँ बिगो जरिवाना भराउने र पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
२०८० असार १ गते भएको उक्त फैसलापछि पनि तामाङ फरार थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तामाङलाई गौशालाबाट नियन्त्रणमा लिएको हो ।
काभ्रेका तामाङ तीन वटा मुद्दामा समेत फरार रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरी वृत्त महाराजगञ्जले बैंकिङ कसुरकै दुई वटा मुद्दा चलाएको थियो ।
पहिलो मुद्दामा ५ लाख र दोस्रो मुद्दा दुई लाख ९० हजार ठगी गरेको अभियोगमा उनीविरुद्ध बैकिङ कसुरको मुद्दा चलेको थियो ।
त्यस्तै, जिल्ला प्रहरी परिसर भक्तपुरबाट समेत ९ लाख रूपैयाँ बराबरको बैंकिङ कसुर गरेकोमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ ।