
ललितपुरमा केटा साथीको घरमा पुगेकी एक किशोरीको मृत्यु भएको छ ।
बुधबार दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल, बोझेपोखरी बस्ने केटा साथीको घरमा पुगेकी ती किशोरी अचानक बेहोस भएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी, चक्रराज जोशीका अनुसार त्यसपछि ती युवतीलाई तत्काल ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याइएको थियो । त्यहाँ पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
ती किशोरी बुधबार दिउँसो १२ बजेतिर बोझेपोखरीस्थित केटा साथीको घरमा पुगेको पाइएको छ । उनी दिउँसो २ बजेतिर अचानक बेहोस भएको उनका केटा साथीले प्रहरीलाई बताएका छन् । उनी पनि १८ वर्षका नै रहेको एसपी जोशीले बताए ।
किशोरी पहिलो पटक ती किशोरको घर पुगेकी थिइन् । आफूहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको किशोरले प्रहरीलाई बयान दिएका छन् ।
मृतक किशोरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ भने किशोर प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र अहिलेसम्म मृत्युको कारण नखुलेको एसपी जोशीले बताए ।
‘शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । किशोर प्रहरी नियन्त्रणमै छन् । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ला’, एसपी जोशीले लोकान्तरसँग भने ।
किशोर किशोरी केही महिना पहिले सामाजिक सञ्जालमार्फत् परिचित भएका प्रहरीले जनाएको छ ।