
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले रूचि छैन भनेर टिप्पणी गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा ओलीले बलियो संसदीय गणितको जगमा उभिएको सरकार ०८४ सम्मै जाने बताएका हुन् । ‘आजै ढल्छ, भोलि ढल्छ भन्ने । नढलेपछि अहिले रूचि छैन भनिदिने ? जतिसुकै चाहना राखे पनि आगामी ०८४ सम्म यही समीकरण अघि बढ्छ,’ प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने ।
ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको टिप्पणी गरे । ‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के का लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन र हुन सक्दैन,’ ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’