२१ असार २०८३, आइतबार

जीबी राईका जेठान बम्जन १० लाख धरौटीमा छुटे

भदौ ९, २०८२
काठमाडौं
जीबी राईका जेठान बम्जन १० लाख धरौटीमा छुटे

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् । बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन् । 

 सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि लामो समय फरार रहेका बम्जन आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका थिए । न्यायाधीश शंकरकुमार राईको इजलासमा भएको बयानपछि अदालतले १० लाख धरौटी तोकेपछि उनी रकम बुझाएर छुटेको सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी दर्ता गर्न उनी सक्रिय भएका थिए । सहकारी विस्तारमा बम्जन परिवारको संलग्नता थियो  ।

उनमाथि व्यक्तिगत रूपमा २६ लाख ७० हजार रुपैयाँभन्दा बढी ठगी गरेको अभियोग छ भने अध्यक्ष हुँदा संस्थागत रुपमा करिब १ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ । पछिल्लो समयमा सहकारी ठगी प्रकरणमा जीबी राईसहित ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सोही प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ६५ लाख धरौटीमा रिहा भएका थिए ।

कमेन्ट गर्नुहोस्