
क्यानडामा रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए ।
नाथले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडामा रोजगारी दिलाइदिने भन्दै १७ लाख एक हजार रूपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
लामो समयसम्म विदेश नपठाइ सम्पर्कविहीन भएपछि पीडित दुई जनाले नाथका विरुद्ध जाहेरी दिएका थिए ।
पक्राउ परेका नाथलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।