२२ असार २०८३, सोमबार

पार्टी एकताबारे निर्णय गर्न एमाले बैठक

पुस ७, २०७४
पार्टी एकताबारे निर्णय गर्न एमाले बैठक

काठमाडौं, ७ पुस– निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 


बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ । सचिव ज्ञवालीले माओवादी केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि शुक्रबार नै बस्ने योजना छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई वाम दलका शीर्ष नेता सम्मिलित  समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । 
एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्