
धनगढी, १९ पुस–सूदूर पश्चिममा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रममा व्यस्त बनेका छन् ।
शाहले आज (बुधबार) धनगढीस्थित शिवपुरी धाम उत्तरामेश्वर ज्योर्तिलिङको पूजा अर्चना गरेका छन् ।
धामभित्र रहेको ज्योर्तिलिङ, भगवती मन्दिर र शिवमन्दिर परिक्रमा संगै पूजापाठ गरेका हुन् । दिउँसो पौने एक बजे पुगेका पूर्व राजाले एक घण्टा मन्दिरमा पूजाआजा गरेका थिए ।
उनको भ्रमणका क्रममा सुरक्षाकर्मीहरुले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनको स्वागतका लागि कैंया चौधरीको संयोजकत्वमा गठन गरिएको एक सय एक सदस्यीय स्वागत समितिले धामको ३० मिटर बाहिरदेखि मन्दिरसम्मै फुलमाला सहित स्वागत गरेका थिए ।
पूजाआजा पश्चात सञ्चारकर्मीसंग एक मिनेटको कुराकानीमा पूर्व राजा शाहले धेरै पछि जनता माझ आउ“दा खुशी लागेको बताए । उनले शिवपुरीधामको कार्यसमितिले आफुलाई दर्शनका लागि बोलाएकोमा पनि धन्यवाद व्यक्त गरे ।
७ नम्बर प्रदेश अर्थात सुदूरपश्चिमको धार्मिक स्थलको दर्शनमा निस्किएका पूर्व राजाले आफु धार्मिक स्थलको दर्शन गर्न आएको र देशको वर्तमान राजनीतिक विषयमा कुनै टिकाटिप्पणी नगर्ने बताए ।
राजतन्त्रप्रति सहानुभुति राख्नेहरुले ‘राजा आउ“, देश बचाउ“’ भन्दै नारावाजी गरेका थिए । पुर्वराजालाई शिवपुरीधामले सम्मानपत्र सहित सम्मान गरेको थियो ।
पूर्व राजा आज नै नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ । आज नेपालगञ्ज बास बसेर पुनः भोलि (बिहिबार) हेलिकोप्टरबाट सुदूरपश्चिमको डोटी, डडेल्धुरा र बैतडीस्थित धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।