
नेपाली सेनाद्वारा वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि शुरू भएको छ ।
पूर्वी पृतना मुख्यालय इटहरीमा शुरू भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश छन् ।
यही जेठ ३१ गतेसम्म हुने प्रतियोगितामा ८२० जना पुरुष र १७६ जना महिला खेलाडीको सहभागिता रहेको छ ।
पूर्वी पृतना हेडक्वार्टरअन्तर्गतका तीन बाहिनी १० गण तथा चार वटा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी छन् ।
उत्कृष्ट खेल प्रतिभाहरूको खोजी गर्दै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विक्रम संवत् २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ ।
प्रधानसेनापति ट्रफी २०८३ मा पूर्वी पृतनाबाट राम्रो नतिजा ल्याउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीले आगामी भदौमा काठमाडौंमा आयोजना हुने प्रधान सेनापति ट्रफीमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने पूर्वी पृतनाले जनाएको छ ।
प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै सेनाका पूर्वी पृतनापति गौरवकुमार केसीले केन्द्रीयस्तरको प्रधानसेनापति ट्रफीका लागि छनोट तथा आधारस्तम्भका रूपमा रहेको यस प्रतियोगिताले सैनिक खेलाडीलाई आफ्नो खेल, कौसल र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए ।
उनले प्रतियोगितामा हासिल हुने सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्बन्धित युनिट तथा समग्र पृतनाको प्रतिष्ठा गौरव र गरिमासँग जोडिएको उल्लेख गरे ।
पृतनापति केसीले खेललाई सामूहिक भावना, आपसी सहयोग, अनुशासन र सहनशीलता अझ महत्त्वपूर्ण पक्ष भएको बताए ।